काठमाडौं । पूर्व सांसद एवम् प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ पर्नु अघि प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामासँग काठमाडौंस्थित मेरियट होटलमा गोप्य भेटघाट भएको थियाे। स्रोतका अनुसार, उक्त भेटमा बैंक र सहकारीलाई रकम भुक्तानी गर्ने विषयमा सहमति नजुटेपछि उनी पक्राउ परेका हुन ।
भट्टचनले पहिलो प्राथमिकता प्रभु बैंकको कर्जा भुक्तानी गर्नुपर्छ भन्ने अडान लिएका थिए भने लामाले सहकारीका सदस्यहरूको रकम पहिले फिर्ता गर्नुपर्ने आग्रह गरेकी थिइन्। यही असहमति पछि वार्ता निष्कर्षमा पुग्न सकेन र सम्बन्ध थप तिक्त बनेको बताइन्छ।
लामाको दाबी अनुसार, भट्टचन नेतृत्वको समूहले प्रभु म्यानेजमेन्टलाई १ अर्ब ९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी राखेको छ। “यो उनीहरूले कम्पनी छोड्दाको हिसाब हो,” लामा भन्छिन्, “यदि ब्याज जोडियो भने रकम अझै धेरै हुन्छ।”
गत साउनमा लामाले सार्वजनिक सूचना जारी गर्दै तत्कालीन सञ्चालकहरूलाई सम्पूर्ण हिसाब–किताब चुक्ता गर्न आग्रह गरेकी थिइन्। सूचनामा तोकिएको समयभित्र रकम भुक्तानी नगरेमा कम्पनीले कानुन बमोजिम असुल–उपर गर्ने चेतावनी दिइएको थियो।
प्रभु बैंकका कर्मचारीका अनुसार, बैंकले प्रभु म्यानेजमेन्टलाई करिब ४० करोड रुपैयाँ कर्जा दिएको छ। कम्पनीले यसअघि साबिक सेन्चुरी बैंकबाट पनि कर्जा लिएको थियो, जसपछि प्रभु बैंकले थप १० करोड कर्जा प्रवाह गरेको बताइन्छ। तर, लामो समयदेखि उक्त कर्जाको सावा र ब्याज भुक्तानी भएको छैन।
स्रोतका अनुसार भट्टचन पक्राउ पर्नु दुई दिन अघि भएको मेरियट भेट “विवादको टर्निङ पोइन्ट” हाे । वार्तामा भट्टचनले भनेका थिए, “पहिले प्रभु बैंकको कर्जा तिर्नु जरुरी छ, नत्र कालोसूचीमा पर्छौं।” तर, लामाले जवाफ दिइन्, “कालोसूची पछि हटाउन सकिन्छ, तर सहकारीका सदस्यहरूको पैसा पहिले फिर्ता हुनुपर्छ।” यही तर्क–वितर्कपछि वार्ता निष्कर्षमा पुग्न सकेन र सम्बन्ध झनै विग्रिएको हो ।
लामाले यसअघि नै नेपाल राष्ट्र बैंक, अदालत र सीआईबीमा उजुरी दिएकी थिइन्। तर, कुनै निकायले सुनुवाइ नगरेको उनको भनाइ छ। “राज्य नै उहाँको पक्षमा हुँदा मेरो कुरा सुन्ने कोही थिएन,” उनले भनिन्, “अब नागरिकको सरकारले न्याय दिने आश गरेकी छु।”
सीआईबीले लामाको बयान लिइसकेको छ। उनले भनिन्, “मसँग भएका सबै प्रमाण सीआईबीमा बुझाइसकेकी छु। म दोषी भए अदालतले प्रमाणित गरोस्, अन्यथा जसको जिम्मेवारी जति छ त्यसको हिसाब गरियोस्।”
प्रभु म्यानेजेमेन्टका अभिलेख अनुसार, देवीप्रकाश भट्टचन २०६९ जेठ २१ देखि २०७१ पुस १२ सम्म कम्पनीको सञ्चालक समितिमा थिए। त्यसपछि क्रमशः विनोद थकाली, मिजास भट्टचन, शिक्षा भट्टचन, ध्रुवचन्द्र धिताल र दक्ष पौडेल (सुभाष) पनि विभिन्न अवधिमा सञ्चालक बनेका थिए।
लामा लामो समय मलेसिया बस्दै आएकी थिइन् र हालै नेपाल फर्केकी हुन्। उनका अनुसार, “जेनजी आन्दोलनपछि भट्टचनले राजनीतिक पद गुमाएपछि रकम तिर्ने तयारी देखाए पनि अन्ततः सहकारीको रकम भुक्तानी गर्न इच्छुक देखिएनन्।”
मुना कुँवर