शीर्षकहरू

भट्टचन पक्राउ पछि सीआईबीमा पिडित सहकारीको भिड, उजुरी दिनेको संख्या बढ्यो

भट्टचन पक्राउ पछि सीआईबीमा पिडित सहकारीको भिड, उजुरी दिनेको संख्या बढ्यो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पूर्व सांसद एवं प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेपछि बाँकी रकम भुक्तानी गरिदिन पिडित सहकारीहरूले दबाब सुरु गरेका छन् । बुधबार काठमाडौंमा करिब तीन दर्जन सहकारीका प्रतिनिधि सीआईबी कार्यालय पुगेका थिए र रकम भुक्तानीको लागि सहजीकरण गर्न आग्रह गरे ।

उक्त दिन प्रभु म्यानेजमेन्टकी वर्तमान अध्यक्ष कुसुम लामा पनि सहकारी प्रतिनिधि सहित सीआईबी कार्यालयमा पुगेकी थिइन् । तर, सीआईबीले लामासँग मात्र गोप्य छलफल गरेको हुँदा सहकारी प्रतिनिधि आक्रोशित भएका थिए ।

त्यसपछि सीआईबीका एक अधिकारीले पिडितलाई भने, “कुन मनी ट्रान्सफर कम्पनीबाट तपाईंहरूले कारोबार गर्नुभएको हो, त्यसअनुसार उजुरी दिनुस । प्रभु म्यानेजमेन्टसँग थुप्रै मनी ट्रान्सफर कम्पनीले काम गरेको भेटियो । तपाईंहरूले कुन कम्पनीबाट कारोबार गर्नुभएको थियो सो अनुसार उजुरी गर्नुहोस् ।”

अधिकारीको सुझावपछि बुधबार सहकारीका प्रतिनिधि अलमलमा परे । उनीहरूले प्रभु म्यानेजमेन्टसँग कारोबार गरेको भए पनि अन्य कम्पनीको बारेमा जानकारी नभएको बताए । तर, सीआईबीले कानुनी मान्यता पाएको रेमिट्यान्स कम्पनीको नाम खुलाएर उजुरी दिन निर्देशन दियो । प्रभु म्यानेजमेन्ट सुपर एजेण्ट मात्रै हो । रेमिट्यान्स कारोबार गर्ने कानुनी मान्यता पाएको कम्पनी भने होइन । 

सीआईबीको सुझाव पछि बिहीबार पिडित सहकारीका प्रतिनिधिले प्रभु मनि ट्रान्सफरसँगको कारोबारको आधारमा सीआईबीमा उजुरी दिएका छन् । पिडित सहकारी प्रतिनिधि सुरज बोगटीका अनुसार, “पहिला उजुरी नदिएका सहकारीहरूले बिहीबार उजुरी दिएका छन् । पहिला उजुरी दिई सकेका सहकारीहरुको भने सीआईबीले उजुरी लिएन । पहिलो पटक दिनेहरूको निवेदन भने लिइयो।”

प्रभु म्यानेजमेन्टले रेमिट्यान्स भुक्तानीका लागि सहकारीहरूलाई सुपर एजेण्ट र एजेण्ट बनाएको थियो। सुपर एजेण्ट र एजेण्टहरूले म्यानेजमेन्टलाई धरौटीका रूपमा एक लाखदेखि तीन लाखसम्म रकम बुझाएका थिए।

म्यानेजमेन्टका कर्मचारी हेम श्रेष्ठका अनुसार म्यानेजमेन्ट ३४ वटा सुपर एजेण्टको ६ करोड ५६ लाख ५९४ रुपैयाँ भुक्तानी गर्न बाँकी छ भने, एक हजार ७२ वटा एजेण्ट सहकारीको ४३ करोड ६४ लाख ९ हजार ९६१ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यो रकम धरौटी र रेमिट्यान्स भुक्तानी सहित हो । 

किसान बहुउद्देश्यीय सहकारीका डम्बर शाहीले आक्रोश व्यक्त गर्दै भने, “म्यानेजमेन्टले रकम भुक्तानी नगर्दा कसैको जागिर जोखिममा छ, कसैको भविष्य जोखिममा छ । यदि कसैले यस्तो अवस्थामा आत्महत्या ग¥यो भने त्यसको जिम्मा कसले लिन्छ ?”

सहकारीले रकम नतिरेपछि आन्तरिक विवाद बढेको कैलालीस्थित सृजनशील महिला विकास सहकारीकी अध्यक्ष भावना खड्काले बताइन् । उनले भनिन्, “महिलाले बचत गरेको सानो रकम हो यो । साधारण सभामा सदस्यले प्रश्न गर्दा हामीले के जवाफ दिने ? कतिपय सदस्यलाई हामीले गलत गरेको पनि लाग्छ । यसले हामी माथि प्रश्न उठाउने निश्चित छ।”
 

nullnull

nullnull