शीर्षकहरू

एक भन्दा बढी सहकारीमा सञ्चालक नबस्न विभागको निर्देशन

एक भन्दा बढी सहकारीमा सञ्चालक नबस्न विभागको निर्देशन

काठमाडौं । सहकारी विभागले एउटै व्यक्तिले एक भन्दा बढी सहकारी संस्थामा सञ्चालकका रूपमा बस्न नपाउने कानूनी व्यवस्था कार्यान्वयन गर्न सबै सहकारीलाई कडाइका साथ निर्देशन दिएको छ ।

बिभागले जारी गरेको सूचनामा सहकारी ऐन–२०७४ को दफा ४१(५) तथा दफा ४४(१)(ग) अनुसार कुनै पनि व्यक्ति एकै समयमा एक मात्र सहकारीको सञ्चालक हुन सक्ने प्रावधान स्पष्ट रूपमा उल्लेख भए पनि केही सहकारीमा अझै पनि दोहोरो सञ्चालक कायम रहेकाबारे गुनासो आएको जनाइएको छ ।

दफा ४४(१)(ग) अनुसार यदि कुनै सञ्चालक अर्को सहकारीमा पनि सञ्चालक रहेमा उसको पद स्वतः खोसिने व्यवस्था ऐनले गरेको छ । सोही प्रावधान पालनामा देखिएको कमजोरीका कारण विभागले सबै सहकारी र सम्बन्धित सञ्चालकलाई तत्काल प्रभावबाट व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

विभागले यसअघि २०८१ असार १९ र २०८१ साउन १७ मा निर्देशन जारी गरिसकेको थियो । यस्तै, राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट २०८२ जेठ ९ मा जारी ‘बचत तथा ऋण सहकारी नियामक मापदण्ड–२०८२’ को परिच्छेद ७, बुँदा १.४, सहकारी विभागबाट २०८२ असार ३२ मा जारी ‘एकीकृत सुशासन निर्देशन–२०८२’ को बुँदा १६ तथा नेपाल राष्ट्र बैंकबाट २०८१ चैत ४ मा जारी ‘बचत तथा ऋण सहकारी मापदण्ड–२०८१’ ले पनि एक व्यक्ति दुई सहकारीमा सञ्चालक हुन नपाउने व्यवस्था दोहो¥याएको विभागले स्मरण गराएको छ ।

प्राप्त गुनासोले सो व्यवस्था अझै कार्यान्वयन नभएको देखिएपछि विभागले “यथाशीघ्र कानूनी व्यवस्था लागू गर्न” सबै सहकारी संस्था र सम्बन्धित सञ्चालक सदस्यलाई अन्तिम चेतावनीसहित निर्देशन जारी गरेको छ ।