शीर्षकहरू

डलरको मूल्य आकाशिँदा इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ, अर्थतन्त्रमा के पर्छ प्रभाव ?

डलरको मूल्य आकाशिँदा इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ, अर्थतन्त्रमा के पर्छ प्रभाव ?

काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेसँगै नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा तोकिएको छ।

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले भारतीय रुपैयाँ डलरसँग कमजोर हुँदा त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा परेको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलर बलियो बन्दै जाँदा नेपाली मुद्रा समेत दबाबमा परेको देखिन्छ।

विनिमय दर कसरी तय हुन्छ ?

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर ( १ भारतीय रुपैयाँ बराबर १.६० नेपाली रुपैयाँ) कायम छ। तर अन्य विदेशी मुद्रासँगको विनिमय दर भने भारतीय रुपैयाँको अवस्था हेरेर निर्धारण गरिन्छ। त्यसैले भारतीय रुपैयाँ डलरसँग कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर देखिन्छ।

अर्थशास्त्रीहरूका अनुसार नेपाली मुद्राको उतार–चढाव स्वतन्त्र माग–आपूर्तिभन्दा बढी भारतीय मुद्रा र भारतीय अर्थतन्त्रमा निर्भर छ। यसैले भारतिय मुद्रा कमजोर हुँदा नेपाली मुद्रा समेत स्वतह कमजोर हुन्छ । 

भारतीय रुपैयाँ डलरसँग किन कमजोर हुँदैछ ?

पछिल्लो समय भारतीय रुपैयाँ अमेरिकी डलरसँग निरन्तर कमजोर हुँदै गएको छ। बलियो अमेरिकी डलर, विदेशी लगानीको बहिर्गमन, बढ्दो व्यापार घाटा र आयातमा उच्च निर्भरता यसको मुख्य कारण मानिन्छ।

अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को कडा मौद्रिक नीतिका कारण डलर विश्व बजारमा बलियो बन्दा लगानीकर्ताहरू सुरक्षित विकल्पतर्फ आकर्षित भएका छन्। यसले भारतबाट विदेशी संस्थागत लगानी बाहिरिने क्रम बढाएको छ, जसले भारतीय रुपैयाँमाथि थप दबाब सिर्जना गरेको छ।

त्यसैगरी, भारतको तेल, सुन र इलेक्ट्रोनिक्समा उच्च आयात निर्भरताका कारण व्यापार घाटा बढ्दै गएको छ। आयात भुक्तानीका लागि धेरै डलर आवश्यक पर्दा रुपैयाँ कमजोर बनेको हो। भारत–अमेरिका व्यापार सम्बन्धी अनिश्चितता र विश्वव्यापी आर्थिक जोखिमले पनि मुद्रा बजारलाई प्रभावित बनाएको छ।

डलरको भाउ किन बढिरहेको छ ?

विश्वव्यापी आर्थिक अनिश्चितता, युद्ध तथा भू–राजनीतिक तनावका कारण लगानीकर्ताहरू डलरलाई ‘सेफ हेभन’ मुद्राका रूपमा रोजिरहेका छन्। अमेरिकी फेडरल रिजर्भले ब्याजदर लामो समयसम्म उच्च राख्ने संकेत गरेपछि डलरमा लगानी झनै आकर्षक बनेको हो।

त्यस्तै, विकासोन्मुख देशहरूमा आयात भुक्तानी, विदेशी ऋण तिर्न र ऊर्जा खरिदका लागि डलरको माग उच्च छ। तर डलरको आपूर्ति सीमित हुँदा यसको मूल्य अझै बढिरहेको छ।

डलर महँगिँदा नेपालको अर्थतन्त्रमा पर्ने प्रभाव

डलरको भाउ बढ्दा नेपालको अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै प्रभाव देखिन्छ।

सकारात्मक पक्षतर्फ हेर्दा, रेमिट्यान्स, पर्यटन र निर्यातबाट हुने आम्दानीको रुपैयाँ मूल्य बढ्छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रकम बढ्न सक्छ, जसले विदेशी मुद्राको सञ्चिति बलियो बनाउन सहयोग पुर्‍याउँछ।

तर नकारात्मक पक्ष अझ गम्भीर देखिन्छ। नेपाल आयात–निर्भर अर्थतन्त्र भएकाले पेट्रोलियम पदार्थ, औषधि, मेसिनरीलगायत आयात महँगो हुँदै महँगी बढ्ने जोखिम रहन्छ। इन्धन मूल्य बढ्दा यातायात, ढुवानी र उद्योग क्षेत्रको लागत पनि बढ्छ।

डलर महँगिँदा आयात घट्ने सैद्धान्तिक मान्यता भए पनि नेपालमा आयात हुने अधिकांश वस्तु अत्यावश्यक भएकाले आयात खासै घट्दैन। बरु आयात महँगो हुँदा व्यापार घाटा अझै बढ्ने सम्भावना रहन्छ।

त्यसैगरी, डलरमा लिइएका वैदेशिक ऋणको भार बढ्ने, भुक्तानी सन्तुलनमा दबाब पर्ने र महँगी नियन्त्रणका लागि कडा मौद्रिक नीति अपनाउँदा ब्याजदर बढ्ने तथा निजी लगानी सुस्त हुने जोखिम पनि देखिन्छ।

डलरको भाउ बढ्नुले रेमिट्यान्स र निर्यातमा केही राहत दिए पनि उच्च आयात निर्भरता, कमजोर उत्पादन क्षमता र बढ्दो व्यापार घाटाका कारण नेपालका लागि यो अवस्था चुनौतीपूर्ण बनेको छ। अर्थतन्त्रको आधार बलियो नबनेसम्म डलर बलियो हुँदा प्राप्त हुने लाभ उपयोग गर्न नेपाललाई कठिनाइ रहने अर्थविद्हरू बताउँछन्।