काठमाडौं । भूगर्भ सिमेन्टको सातौ साधारण सभा सम्पन्न गरेको छ । २०७४ सालमा स्थापना भएको भूगर्भ सिमेन्ट लिमिटेड पश्चिम नेपालको विश्वसनीय तथा उदयोन्मुख अग्रणी सिमेन्ट उद्योग हो ।
कम्पनीको ७औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष नन्दी केशर पौड्यालले उद्योगले दीर्घकालीन स्वावलम्बन र प्रतिस्पर्धात्मक उत्पादन क्षमताका लागि ८००-१००० मेट्रिक टन क्षमताको प्रतिदिन रोटरी प्लान्ट स्थापनाको प्रक्रिया अघि बढाएको बताएका छन ।
आर्थिक वर्ष २०८१/८२ सम्मको चुक्तापुँजी पचास करोड पचास लाखको १००ः६० हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारण सभाले पास गरेको अध्यक्ष पौड्लयालले जानकारी दिए । हकप्रद शेयर जारी पछि कम्पनीको पुँजी असी करोड असी लाख पुग्ने छ । साथै उद्योगले हकप्रद शेयर जारी पश्चात २० प्रतिशत साधारण शेयर आइपीओ जारी गर्ने योजना समेत रहेको उनले बताएका छन् । उक्त आइपीओ जारी पछि कम्पनीको चुक्तापुँंजी एक अर्ब एक करोड पुग्ने छ । कम्पनीले आ.व. २०८१/८२ मा रु. १६६.९८ करोड को कारोबार गरेको छ जुन गत आ.व. भन्दा २० प्रतिशतले बढि हो ।
आ.व. २०८१/८२ मा कम्पनीले ३.१९ करोड रुपैयाँ नाफा आर्जन गरेको उद्योगले जनाएको छ । साथै, २०८२ आषाढ मसान्तसम्मका तिर्नुपर्ने सम्पूर्ण ब्याज तथा बक्यौता रकम समयमै चुक्ता गरि उद्योगको आर्थिक अनुशासनमा पनि उत्तरदायि रहेको उद्योगका अध्यक्ष पौड्यालयले बताएका छन ।
साथै अध्यक्ष पौड्यालले उद्योगले प्रत्यक्षरूपमा फ्याक्ट्री, कार्यालय तथा खानी गरी करिब सयभन्दा बढी नेपालीलाई रोजगारी प्रदान गरेको छ भने ढुवानी, वितरण तथा डिलर नेटवर्कमार्फत अप्रत्यक्ष रूपमा थप हजारौँ रोजगारी सिर्जना भएको बताए ।
उद्योगले विगत देखिनै ओपीसी र पिपिसी दुबै प्रकारका गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ । हाल उद्योगको क्लींकर उत्पादन क्षमता ३०० मेट्रिक टन प्रतिदिन तथा सिमेन्ट उत्पादन क्षमता ५०० मेट्रिक टन प्रतिदिन रहेको छ। आवश्यक चुनढुंगा उद्योगकै आफ्नै खानी—अर्घाखाँचीको खाँचीकोटबाट उत्खनन गरिएको छ ।
आधुनिक उत्पादन फ्याक्ट्री कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–६ मा अवस्थित छ । स्थापना पश्चात उद्योगले विश्वास, गुणस्तर र निरन्तर सेवा प्रदान गर्दै पश्चिम नेपालको निर्माण बजारमा उल्लेखनीय स्थान बनाएको छ ।
उत्पादन वृद्धि, वित्तीय अनुशासन, कर्जा व्यवस्थापन, पुँजी सुदृढीकरण तथा विस्तार योजनासहित उद्योगले पछिल्ला वर्षहरूमा स्थिर प्रगति हासिल गरेको छ । पश्चिम नेपालका उपभोक्ताको अपेक्षा अनुरूप बलियो, भरपर्दो र गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने उद्योगको प्रतिबद्धता यथावत् रहेको छ ।
आर्थिकन्यूज