काठमाडौं । नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू हड्तालमा उत्रिएका छन् । विभिन्न ७ बुँदे माग राख्दै आज पौष एक गते मंगलबारदेखि कर्मचारीहरू हडतालमा उत्रिएका हुन् ।
नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनले प्राधिकरणका अध्यक्ष समक्ष विभिन्न माग राख्दै आएका थिए । उनीहरुले पटक-पटक लिखित तथा मौखिकरुमा माग राख्दै आएका थिए ।
तर, प्राधिकरणको सञ्चालक समितिका अध्यक्षले आफ्नो मागहरुबारे बेवास्ता गरेपछि उनीहरू हड्तालमा उत्रिन बाध्य भएको युनियनका अध्यक्ष प्रेमहरी पोखरेलले जानकारी दिए । आज मंगलबार युनियनका अध्यक्ष पोखरेल र संगठनका अध्यक्ष दिपक ज्ञवालीले अध्यक्षलाई एक पत्र लेख्दै आन्दोलनमा उत्रिएको जानकारी औपचारिक रुपमा दिएका हुन् ।
अबको ४ दिनसम्म कालोपट्टि बाँधेर काम गर्ने उनीहरुको योजना रहेको छ । त्यसपछि कार्यालय प्राङ्ग्रणमै विरोधको कालो ब्यानर टाँस्ने र सो समयसम्मको उपलब्धिलाई समीक्षा गरि आगामी योजना तर्जुमा गर्ने पनि पत्रमा उल्लेख गरिएको छ ।
उनीहरुले यस अघि मंसिर १ गते एक पत्र लेख्दै मागहरुबारे अध्यक्षलाई जानकारी गराएका थिए । त्यसपछि २१ दिनको समय दिएका थिए । मंसिर २१ गतेसम्म कुनै सुनुवाइको पहल नभएपछि ७ दिने अल्टिमेटम दिएका थिए । ७ दिन सकिँदासम्म पनि अध्यक्षले कुनै पहल नगरेको उनीहरुको गुनासो रहेको छ ।
प्राधिकरणको हालका अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव जनक राज शर्मा रहेका छन् ।
यस्ता छन् ७ माग
१. प्राधिकरणको मिति २०८२ जेठ १२ र १६ गते संचालक समितिबाट स्वीकृत भई मन्त्रालय गएको सेवा सुविधा तथा नयाँ दरबन्दी (नयाँ संगठन संरचना) सहितको प्रतिवेदन लागु गर्ने तथा सो पश्चात मात्र पदपूर्तिको कार्य अगाडी बढाउन पर्ने।
२. बीमा अत्यन्त प्राविधिक विषय भएकोले गर्दा माथिल्लो पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्दा संस्थाको आवश्यकता अनुरुपको जनशक्ति उपलब्ध नहुने हुँदा कर्मचारी विनियमावली संशोधन गरी उपनिर्देशक पदमा आन्तरिक प्रतिस्पर्धा तथा का.स.मू. प्रक्रियाबाट मात्रै पदपूर्ति गर्ने।
३. कर्मचारी विनियमावलीमा प्राविधिक र प्रशासन समूह स्पष्ट नहुँदा निकट भविष्यमा यसले समस्या तथा विवाद सिर्जना गर्न सक्ने अवस्था भईसकेको हुँदा सो विषयहरुलाई समयमै समाधान गर्ने, प्रदेश सरुवा तथा भौगोलिक अङ्कको व्यवस्था लाई समेत स्पष्ट पारी नीतिगत व्यवस्था गर्नुपर्ने।
४. कर्मचारीहरुको सिक्ने अवसर, क्षमता विकास, कार्यवातावरण सुधार तथा कर्मचारीहरुको गुनासो सुनुवाई तथा मनोबल वृद्धि जस्ता कर्मचारी विनियमावलीमा भएको कर्मचारीसंग सम्बन्धित विषय (तालिम, मनोनयन, सरुवा, सुझाव पेटिका) मा तथा भविष्यमा कुनै पनि किसिमको विवाद सिर्जना हुन नदिनका लागि कर्मचारीहरुको प्रतिनिधित्व हुनेगरी सिफारिस समितिको आधारमा मात्र हुने व्यवस्था गरिनुपर्ने।
५. निर्देशक पदमा अधिकतम सेवा अवधी (cap) को व्यवस्था गर्नुपर्ने ।
६. प्राधिकरणको उत्तराधिकारी योजना बनाई यथाशिघ्र लागु गर्ने व्यवस्था मिलाउनुपर्ने।
७. प्राधिकरणको संस्थागत सुधार तथा विकासका लागि अन्तराष्ट्रिय स्तरका संस्था मार्फत Reengineering गर्नुपर्ने।
आर्थिकन्यूज