काठमाडौं । सप्तरीको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि भएको लज्जास्पद, घृणित तथा हिंसात्मक दुव्र्यवहारप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले कडा भर्त्सना गरेको छ।
कर्जाको किस्ता नियमित नभएको विषयमा स्वयं ऋणीको आग्रहमा छलफलका लागि पुगेका कर्मचारीहरूलाई स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका व्यक्तिहरूले घन्टौँसम्म नियन्त्रणमा राखी अमानवीय व्यवहार र आक्रमण गरेको सिबिफिनको आरोप छ।
घटनापछि पीडितको जाहेरी दर्ता नगरी उल्टै मिलापत्रका लागि दबाब दिएको भन्दै स्थानीय सुरक्षा निकायको भूमिकाप्रति पनि सिबिफिनले गम्भीर आपत्ति जनाएको छ। यस्तो बर्बर घटनाले कर्मचारीको मनोबल र बैंकिङ क्षेत्रको विश्वसनीयतामाथि गम्भीर असर पार्ने भन्दै दोषीमाथि कडा कारबाही गर्न गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरिएको छ।
सिबिफिनले बैंक तथा वित्तीय संस्थामाथि हुने आक्रमणलाई राज्यकै प्रणालीमाथिको आक्रमणका रूपमा व्याख्या गर्दै बैंकिङ सेवा निर्वाध रूपमा सञ्चालन गर्न कर्मचारीको प्रभावकारी सुरक्षा सुनिश्चित गर्न संघीय, प्रदेश र स्थानीय सरकारसँग अपिल गरेको छ।
साथै, कुनै गुनासो भए कानुनी र संस्थागत संयन्त्र प्रयोग गर्न आग्रह गर्दै कानून हातमा लिएर गरिने यस्ता कार्यले समग्र अर्थतन्त्रलाई नोक्सान पुर्याउने चेतावनी दिएको छ।
आर्थिकन्यूज