काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा दिइने मार्जिन कर्जा निरन्तर बढाइरहेका छन् । तर यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छैन। राष्ट्र बैंकले हाल मार्जिन कर्जा नियम खुकुलो बनाएको छ यसले कर्जा बढेपनि यसको प्रभाव अझै सीमित देखिएको छ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४६ अर्ब रुपैयाँभन्दा बढी मार्जिन कर्जा लगानी गरेका छन्। गत असारसम्म यो रकम करिब १ खर्ब ४० अर्ब रुपैयाँ थियो।
चालु आवको चार महिनामा बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा झण्डै चार प्रतिशतले बढेको देखिन्छ । शेयर धितोमा प्रवाह भएको कर्जा सबै बजारमा लगानी नहुनाले नेप्सेमा अपेक्षित वृद्धि नदेखिएको एक ब्रोकरले बताए ।
शेयर धितो कर्जा १ खर्ब ४६ अर्ब
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले मार्जिन कर्जा शीर्षकमा १ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ लगानी गरेका छन्। गत असारसम्म यो रकम १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ थियो। यसरी चार महिनामा कर्जा ३.९ प्रतिशतले वृद्धि भएको छ।
राष्ट्र बैंकका तथ्यांक अनुसार, १ करोड रुपैयाँभन्दा बढीको शेयर धितो कर्जा ४.२ प्रतिशत बढेर १ खर्ब ३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । ५० लाखदेखि १ करोडसम्मको कर्जा ४ प्रतिशतले बढेर १६ अर्ब ६६ करोड रुपैयाँ र २५ लाखदेखि ५० लाखसम्मको कर्जा २.३ प्रतिशतले बढेर १७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। २५ लाख रुपैयाँसम्मको कर्जा भने ४.६ प्रतिशतले बढेर ८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
वाणिज्य बैंकले कात्तिक मसान्तसम्म १ खर्ब २३ अर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३५.३ प्रतिशत बढी हो। विकास बैंकहरूले कुल १८ अर्ब ८८ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन । फाइनान्स कम्पनीहरूले कात्तिक मसान्तसम्म ३ अर्ब ८२ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन ।
राष्ट्र बैंकले हाल शेयर धितो कर्जा लगानीमा नीति खुकुलो बनाएको छ । राष्ट्र बैंकले यसअघि शेयर कर्जामा व्यक्तिगत अधिकतम सीमा २५ करोड रुपैयाँ हटाएको छ । साथै, शेयरमा लगानी अवधि १ वर्षबाट घटाएर ६ महिना गरिएको छ । पूर्व निर्धारित बिक्री सीमाको (प्राथमिक पुँजीको २०%) पनि खारेज गरिएको छ। विगतमा ५० लाखभन्दा माथिको मार्जिन कर्जामा १५० प्रतिशत जोखिम भार लागू थियो, तर अहिले यो हटाइएको छ ।
बैंकिङ प्रणालीमा निक्षेप बढ्दा पनि कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसकेको कारण राष्ट्र बैंकले कर्जा प्रवाहको नीति खुकुलो बनाएको हो। यद्यपि, शेयर बजारमा यसको प्रभाव अझै देखिएको छैन।
नेप्से सामान्य बढ्यो, कारोबार रकम भने घट्यो
मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार सामान्य अंक बढेर बन्द भएको नेप्से मंगलबार नेप्से परिसूचक १८.३७ अंक बढेर २६१९.९९ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ।
सोमबार ३ अर्ब ४४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ३ अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो।
मंगलबारको बजारमा तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य सर्वाधिक ४.१६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ८२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन लुम्बिनी विकास बैंकको करिब साढे १० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।
आर्थिकन्यूज