काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुनंकर्मी र उनकी पत्नी पूर्ण केशरी गोसाईमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बिनेश मुनंकर्मीले २०५४ साल फागुन १ देखि २०८० साल मंसिर १४ सम्म सरकारी-सार्वजनिक पदमा कार्यरत रहँदा पेश गरेको सम्पत्ति विवरणअनुसार कानूनी रूपमा आर्जन गरिएको आय ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ रहेको देखिएको छ।
तर, सो अवधिमा गरिएको व्ययमा जग्गा खरिद, घर निर्माण, सवारी साधन तथा सुनको गरगहना खरिद, शेयर र व्यवसायमा लगानी, शिक्षा तथा विमा शुल्क, बैंकमा मौज्दात रकम, नगद रकम लगायत गरी कुल ६ करोड २४ लाख १५ हजार ९६१ रुपैयाँ खर्च भएको देखिएको छ।
उनको कुल आयभन्दा कुल व्यय २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ बढी भएको र सो रकमको स्रोत पुष्टि हुन नसकेकाले मुनंकर्मीले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालिएको छ । उनीविरुद्ध २ करोड ५० लाख ३४ हजार बिगो कायम गरिएको छ ।
अख्तियारले उक्त तथ्यको आधारमा बिनेश मुनंकर्मी र उनकी पत्नी पूर्ण केशरी गोसाईमाथि संबन्धित कानूनी कारबाहीको मागसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।
अख्तियारले पोखरा विमानस्थल बनाउन भएको ठेक्का सम्झौतासम्मको ‘भ्रष्टाचार’ मा ५ पूर्वमन्त्री र ९ पूर्वसचिवसहित ५६ विरुद्ध मुद्दा दायर गरिसकेको छ । विमानस्थल निर्माणमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको संसदीय छानबिन समितिको निष्कर्ष छ । अख्तियारले निर्माणमा भएको यही हिनामिनामाथि अनुसन्धान थालेको हो ।
आर्थिकन्यूज