काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालैका दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सरकारले बैंक तथा वित्तीय संस्थासँगको संयुक्त प्रयासअनुसार स्थानीय तहसम्म वित्तीय सेवा पहुँच पुगेको छ, जसले सर्वसाधारणलाई निक्षेप राख्न, कर्जा लिन, विप्रेषण गर्न र सामाजिक सुरक्षा रकम प्राप्त गर्न सहज बनाएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र बैंकको निर्देशनअनुसार कर्जा प्रवाह गर्नु, अनुगमन गर्नु र कर्जा असुल गर्नु सम्बन्धित संस्थाको प्रमुख जिम्मेवारी हो। ऋणीले लिएको कर्जा नियमित भुक्तानी गर्नुपर्ने भए पनि प्रतिकूल परिस्थितिमा राष्ट्र बैंकले पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्था गरी सहजीकरण गर्दै आएको छ।
बैंकिङ कारोबारमा कुनै गुनासो भएमा ग्राहकले सम्बन्धित संस्था वा राष्ट्र बैंकमा गुनासो गर्न सक्ने व्यवस्था रहेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र कर्मचारीसँग गैरजिम्मेवार वा उच्छृङ्खल व्यवहार नगर्न सबैलाई सचेत गराउँदै, नियम उल्लङ्घन गर्ने विरुद्ध कानुनी कारबाही हुने चेतावनी पनि दिएको छ।
बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखेर जिम्मेवार व्यवहार गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।
आर्थिकन्यूज