शीर्षकहरू

एमाले महाधिवेशनको मतदान साँझबाट मात्र, प्रक्रिया १० घण्टाभन्दा बढी लाग्ने

एमाले महाधिवेशनको मतदान साँझबाट मात्र, प्रक्रिया १० घण्टाभन्दा बढी लाग्ने

काठमाडौं । एमालेको ११ औ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया अपेक्षाभन्दा लामो समय लाग्ने देखिएको छ। विद्युतीय भोटिङ मेसिनमार्फत हुने मतदानमा एक जना प्रतिनिधिलाई नै झण्डै आधा घण्टा लाग्ने भएपछि मतदान प्रक्रिया रातिसम्म लम्बिने भएको हो।

केन्द्रीय निर्वाचन आयोगका अनुसार विद्युतीय भोटिङ मेसिनमा आवश्यक कोडिङ मिलाउनुपर्ने भएकाले मतदान मंगलबार दिउँसोको सट्टा साँझबाट मात्र सुरु गरिनेछ। यसले सम्पूर्ण मतदान प्रक्रिया कम्तीमा १० देखि ११ घण्टा लाग्ने अनुमान गरिएको छ।

एमालेले महाधिवेशनका लागि ल्याइएका १०० वटा विद्युतीय भोटिङ मेसिनमध्ये ८० वटा मात्र प्रयोग गर्ने निर्णय गरेको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार एकैपटक ८० जना प्रतिनिधिले मात्र मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ।

महाधिवेशनमा कुल २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन्। निर्विरोध निर्वाचित ११ जना उम्मेदवारबाहेक अन्य सबै पदका लागि मतदान गर्नुपर्ने भएकाले प्रत्येक प्रतिनिधिले कम्तीमा २ सय ९२ जना उम्मेदवारलाई मत दिनुपर्ने अवस्था छ।

एक राउन्ड मतदानका लागि करिब २५ देखि ३० मिनेट लाग्ने अनुमान गरिएको छ। सोही आधारमा सबै प्रतिनिधिको मतदान सम्पन्न गर्न कम्तीमा ११ घण्टा समय लाग्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।