काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८ बजेपछि मात्र हुने भएको छ। महासचिव शंकर पोखरेलले सूचना जारी गरेर बिहान ८ बजेदेखि मात्रै मतदान हुने बताएका छन्।
अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलबीच छलफल भएपछि बेलुका गर्ने भनिएको मतदान सरेको महासचिव शंकर पोखरेलले महाधिवेशन प्रतिनिधिलाई जानकारी गराएका हुन्।
आज बिहानदेखि सुरु हुने भनिएको मतदान पटक-पटक सारिएको थियो। मतदानमा विद्युतीय मेसिन प्रयोग गरिने छ।
पोखरेलले विद्युतीय भोटिङमा समस्या रहेको देखाउँदै बिहानको लागि मतदानको समय राखिएको बताए। यस्तै उनले चिसो मौसम भएकाले पनि बिहानबाट मात्रै मतदान हुने तर्क गरे।
एमालेको २ हजार २ सय ६३ प्रतिनिधि रहेका छन्। प्राविधिकहरुले एकजना प्रतिनिधिलाई मतदान गर्न करिब ३० मिनेट लाग्ने बताएका छन्।
आर्थिकन्यूज