शीर्षकहरू

काठमाडौंमा ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ हुँदै

काठमाडौंमा ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ हुँदै

काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु हुँदैछ। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लि.को संयुक्त आयोजनामा हुने यस प्रदर्शनीको दशौँ संस्करण पुस ४, ५ र ६ गते भृकुटीमण्डपमा आयोजना हुनेछ।

इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटाइल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ र उत्पादनसम्बन्धी यस बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका १०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। प्रदर्शनीले काठ व्यवसायसँग सम्बन्धित उत्पादन र नवीन प्रविधिबारे जानकारी गराउँदै आएको छ।

एघारौँ संस्करणको यस प्रदर्शनीमार्फत विश्वभरका अत्याधुनिक प्रविधि र उत्पादन नेपाली बजारमा भित्र्याई स्वदेशी उद्योगमा प्रयोग प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। यसले सानादेखि ठूला उद्योगसम्मलाई मेसिनरी उन्नयन र उत्पादन क्षमता वृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास आयोजकको छ।

प्रदर्शनीमा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाइउड उत्पादक संघ तथा इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल सहयोगी संस्थाका रूपमा रहेका छन्। साथै, इन्टेरियर डिजाइनर एसोसिएसन नेपालका विज्ञद्वारा नवीन प्रविधि, इन्टेरियर डिजाइन र फर्निचरसम्बन्धी विषयमा दुईदिने सेमिनार तथा गोष्ठी पनि आयोजना हुनेछ।

घर निर्माणमा रुचि राख्ने सर्वसाधारणदेखि आर्किटेक्ट, इन्जिनियर र इन्टेरियर डिजाइनरको उल्लेखनीय सहभागिता रहने यस प्रदर्शनीले नेपालमा काठ, फर्निचर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।