काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले बैंकका विभिन्न कोषमा रहेको रकम मुद्दती निक्षेपका रुपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थासँग ब्याजदर प्रस्ताव आह्वान गरेको छ ।
राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई जनवरी १, २०२६ देखि जनवरी १, २०२७ सम्म ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर पेश गर्न आग्रह गरेको हो।
राष्ट्र बैंकले कुल ४ अर्ब २४ करोड ४६ लाख रुपैयाँ लगानीको लागि प्रस्ताव माग गरेको हो । कुल लगानीयोग्य रकममध्ये “क” वर्गका वाणिज्य बैंकमा ३ अर्ब ३९ करोड ५८ लाख, “ख” वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६३ करोड ६६ लाख र “ग” वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २१ करोड २२ लाख लगानीको सीमा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार प्रस्तावित विवरण तोकिएको फारम भरी २०८२ पुस ४ गते राति १२ बजेभित्र इमेलमा पठाउनुपर्नेछ। सो प्रस्ताव फाइलको पासवर्ड भने २०८२ पुस ४ गते राति १२ बजेभित्र इमेलमार्फत जानकारी गराउन अनुरोध गरिएको छ ।
प्रस्ताव पेश गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले कम्तीमा दुई वर्ष सञ्चालनमा रहेको, न्यूनतम पुँजीकोष अनुपात कायम गरेको, निष्क्रिय कर्जा (एनपीएल) ८ प्रतिशत र तरलता अनुपात तोकिएको सीमाभित्र रहेको तथा पछिल्लो आर्थिक वर्षमा खुद नाफामा रहेको हुनुपर्ने सर्त राखिएको छ ।
साथै, समस्याग्रस्त घोषणा वा शीघ्र सुधारात्मक कारबाहीमा परेको भए त्यस्तो अवस्था फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने उल्लेख गरिएको छ। राष्ट्र बैंकले तोकिएका शर्त पूरा गर्ने बैंक तथा वित्तीय संस्थालाई मात्र सिलबन्दी ब्याजदर प्रस्ताव पेश गर्न आग्रह गरेको छ।
आर्थिकन्यूज