काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थड गाउँपालिका–१ स्थित खेलमैदान निर्माण तथा सुधार कार्यमा अनियमितता भएको ठहर गर्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित सम्बन्धित पदाधिकारी र उपभोक्ता समितिका पदाधिकारीमाथि विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार खेलमैदान निर्माणका क्रममा एउटै कामको दोहोरो भुक्तानी, नगरेको काम देखाई रकम निकासा, फरक-फरक कागजात प्रयोग गरी बिल-भर्पाइ तयार गर्ने र लागत अनुमानमा गडबडी गरिएको पाइएको छ। अनुसन्धानबाट १४ लाख ६६ हजार ५०३ रुपैयाँ ९२ पैसाको गैरकानूनी लाभ तथा सरकारी कोषमा हानि-नोक्सानी भएको पुष्टि भएको आयोगले जनाएको छ।
प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, सब–इन्जिनियर गणेशराज उपाध्याय, तत्कालीन लेखापाल हकदेव जोशी तथा बित्थड खेलमैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्र बहादुर बोहरा, सचिव वीर बहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारी प्रतिवादी छन्। उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी गरिएको छ।
आयोगले एउटै आर्थिक वर्षमा एउटै उपभोक्ता समितिसँग दोहोरो सम्झौता गरिएको, मापन किताब र अन्तिम बिलमा फरक-फरक विवरण राखिएको तथा दोहोरो र बढी भुक्तानी गरिएको तथ्य प्रमाणित भएको जनाएको छ।
आर्थिकन्यूज