शीर्षकहरू

देखिन थाल्यो कित्ताकाट खुलेको प्रभाव : घरजग्गाको कारोबारसँगै राजस्वमा उछाल

देखिन थाल्यो कित्ताकाट खुलेको प्रभाव : घरजग्गाको कारोबारसँगै राजस्वमा उछाल

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर महिनामा घरजग्गाको कारोबारमा सुधार देखिएको छ । पछिल्ला महिनाहरूमा गत वर्षको तुलनामा घरजग्गाको कारोबार तथा कित्ताकाट लगातार घटिरहेको थियो । तर, मंसिरमा भने एक्कासि सुधार देखिएको हो।

मंसिर महिनामा घरजग्गाको कारोबार, कित्ताकाट र यसबाट संकलन हुने राजस्व पनि वृद्धि भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको छ । गएको मंसिर महिनामा १ लाख ८ हजार ८९९ पटक घरजग्गाको कारोबार भएको छ । जसमध्ये ५१ हजार ६३२ पटक लिखत पारित भएको विभागले जनाएको छ । २०८१ को मंसिर महिनामा १ लाख २८ हजार ३८२ पटक मात्रै घरजग्गाको कारोबार भएको थियो । जसमध्ये ४३ हजार ३७९ पटक लिखत पारित भएको थियो ।

अर्थात्, घरजग्गाको कारोबार २०८१ को मंसिरको तुलनामा २०८२ को मंसिरमा २३.७७ प्रतिशतले वृद्धि भएको देखिन्छ । यसैगरी, २०८२ को मंसिरमा ५५ हजार १५५ वटा जग्गाको टुक्रालाई कित्ताकाट गरेर १ लाख २१ हजार ६१८ कित्तामा विभाजन गरिएको छ ।

जुन २०८१ को मंसिरमा ४६ हजार २९६ कित्तालाई १ लाख १ हजार ७४१ कित्तामा विभाजन गरिएको थियो । त्यसैगरी, घरजग्गाको कारोबारबाट हुने राजस्वमा पनि उल्लेख्य वृद्धि देखिएको छ । गत वर्षको तुलनामा यस वर्षको मंसिर महिनामा घरजग्गाबाट संकलन हुने राजस्व २५.११ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

२०८१ मा ३ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएकोमा २०८२ को मंसिरमा ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसरी घरजग्गाको काराेबार, कित्ताकाट र राजस्व बढ्नुको कारणहरू धेरै हुनसक्छन् । त्यसमध्ये पनि सरकारले कित्ताकाट खुलाएका कारण यसरी उछाल आएको जानकारहरु बताउँछन् । 

सरकारले २०८२ को असार मसान्तदेखि कित्ताकाट रोक्का भएको थियो । जसले यस क्षेत्रको कारोबारसँगै सरकारको राजस्वमा नै धक्का पुग्न पुग्यो । तर, रोकिएको कित्ताकाट गत कार्तिक महिनाको अन्तिम सातामा सरकारले खुलाइदियो । अर्थात् आगामी असार मसान्तसम्मका लागि कित्ताकाट गर्न पाइने व्यवस्था सरकारले गरिदिएको छ । यसले गर्दा अझै ७ महिनासम्म कित्ताकाट गर्न पाइन्छ । यो अवधिमा घरजग्गाको कारोबार उच्च हुने आशा व्यवसायीहरूमा रहेको छ ।

नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव रोशन भोयद्योले आगामी दिनमा घरजग्गाको कारोबार अझै वृद्धि हुने आशा व्यक्त गरे । आर्थिक न्यूजसँग कुरा गर्दै उनले भने, 'सरकारले कित्ताकाट खुलाएको छ । यसले गर्दा अबको ७ महिनासम्म घरजग्गाको कारोबार उच्च मात्रामा वृद्धि हुन्छ । कित्ताकाट फुकुवाको असर अहिले नै देखा पर्न थाल्यो।’

२०७७ सालमा घरजग्गाको कारोबारले लय लिएको थियो । त्यस समयमा कारोबार उच्च गतिमा वृद्धि भएको थियो । अबको ७ महिनामा पनि सोही रफ्तारमा कारोबार बढ्ने आशा उनले व्यक्त गरे । २०७७ को चैत महिनामा मात्रै घरजग्गाको कारोबारबाट ८ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । त्यो समय घरजग्गाको कारोबार पिकमा पुगेको थियो ।