काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल ३ हजार ३०३ वटा बीमा दाबीको करिब २३ अर्ब ४५ करोड दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिब ५ अर्ब १८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेको अद्यावधिक तथ्याङ्क रहेको छ ।
प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिब रू. १९ अर्ब २ करोडमध्ये करिब ३ अर्ब ८२ करोड र मोटर बीमातर्फ २ हजार ३११ वटा बीमा दाबीको दाबी रकम करिब ३ अर्ब ४७ करोडमध्ये करिव १ अर्ब २२ करोड भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको करिब ५५ करोड ४७ लाख दाबी रकममध्ये करिव ७ करोड ५० लाख, परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको करिव १ करोड ६९ लाख दाबी रकममध्ये करिव १ करोड ५५ लाख र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिव ३८ करोड ४० लाख दाबी रकममध्ये करिव ५ करोड ५० लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
अग्रिम भुक्तानी सहित करिव ३ अर्ब २ करोड पुनर्बीमा दाबी भुक्तानी
जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब ३ अर्ब २ करोड अग्रिम भुक्तानी समेत गरी पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कुल २ हजार ८६२ वटा पुनर्बीमा दाबीको दाबी रकम करिब १६ अर्ब ६२ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।
आर्थिकन्यूज