शीर्षकहरू

बीमितको २५ अर्ब भुक्तानी गरेनन् निर्जीवन बीमा कम्पनीले

बीमितको २५ अर्ब भुक्तानी गरेनन् निर्जीवन बीमा कम्पनीले

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले बीमितहरुको २५ अर्ब २ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छैनन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सो रकम बराबरको दाबी रकम नगरेका हुन् । 

कम्पनीहरुले भुक्तानी गर्न बाँकी रहेको रकम गत आवमा थपिएको छ । आव २०८०/८१ मा कम्पनीहरुले भुक्तानी गर्न बाँकी रहेको दाबी रकम २० अर्ब ८४ करोड रुपैयाँ थियो भने आव २०७९/८० मा २७ अर्ब ५१ करोड रुपैयाँ बाँकी रहेको प्राधिकरणले तथ्यांकले देखाएको छ। 

तथ्यांक अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी भुक्तानी हुन बाँकी रहेको दाबी रकम सबैभन्दा धेरै छ । आव २०८१/८२ सम्ममा कम्पनीले भुक्तानी गर्नुपर्ने दाबी रकम तीन अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । आव २०८०/८१ सम्म तीन अर्ब ८१ करोड रुपैयाँ बाँकी थियो भने आव २०७९/८० सम्म चार अर्ब ३७ करोड रुपैयाँ बाँकी थियो । प्रत्येक वर्ष भुक्तानी गर्न बाँकी रहेको रकम थपिदै गएको छ। 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको दाबी भुक्तानी हुन बाँकी रकम दुई अर्ब ८४ करोड रहेको छ । आव २०८०/८१ मा दुई अर्ब १९ करोड र आव २०७९/८० सम्म दुई अर्ब ६८ करोड रुपैयाँ बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ। 

शिखर इन्स्योरेन्स कम्पनीको बाँकी रहेको दाबी भुक्तानी रकम दुई अर्ब ११ करोड रहेको छ । आव २०८०/८१ सम्म एक अर्ब ८५ करोड थियो भने २०७९/८० सम्म एक अर्ब ८३ करोड रहेको थियो । कम्पनीको बाँकी रहेको दाबी भुक्तानी रकम प्रत्येक आवमा घट्दै गएको छ।  

आव २०८१/८२ सम्ममा दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीको बाँकी रहेको दाबी भुक्तानी रकम एक अर्ब ४१ करोड रहेको छ । नेशनल इन्स्योरेन्स कम्पनीको एक अर्ब ६४ करोड, नेको इन्स्योरेन्सको एक अर्ब ७१ करोड, प्रभु इन्स्योरेन्सको एक अर्ब ३३ करोड रहेको छ।

यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले एक अर्ब ४० करोड रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ । राष्ट्रिय बीमा कम्पनीको भुक्तानी हुन बाँकी रकम एक अर्ब ४६ करोड रुपैयाँ छ। हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको एक अर्ब ४८ करोड रुपैयाँ बाँकी छ। 

सानिमा जिआइसी इन्स्योरेन्सको एक अर्ब ९३ करोड, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको एक अर्ब ६१ करोड र युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको एक अर्ब २९ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ। 

यस्तै, चार निर्जीवन लघु बीमा कम्पनीहरुले बीमितहरुको सात करोड ६९ लाख रुपैयाँ भुक्तानी गरेका छैनन् । नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीको भुक्तानी हुन बाँकी दुई अर्ब ९१ करोड छ । प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स कम्पनीको तीन अर्ब र ट्रस्ट माईक्रो इन्स्योरेन्स कम्पनीको एक अर्ब ७३ करोड रुपैयाँ बाँकी रहेको छ। 

बीमा नियमावलीको नियम ९१ अनुसार सर्भेयरले प्रतिवेदन पेश गरेको सात दिन भित्रमा बीमकले दाबी भुक्तानी गरी सक्नुपर्नेछ । दाबी भुक्तानी गर्नु नपर्ने भएमा कारण सहित सोही अवधि भित्र दाबीकर्तालाई लिखित जानकारी दिनुपर्नेछ । बीमितले बुझी लिएको सुनिश्चित गरी सोको प्रमाण बीमकले सुरक्षित राख्नुपर्नेछ। 

बीमकले खटाएको सर्भेयरले गरेको काम उपयुक्त नदेखिएमा अर्को सर्भेयर खटाउनु पर्ने भएमा सोको स्पष्ट आधार र कारण खुलाई अर्को सर्भेयर खटाउन सकिने नियमावलीमा व्यवस्था छ। 

यस्तै, बीमा दाबीको क्षति मूल्याङक्न गर्न नेपालमा इजाजत प्राप्त सर्भेयर उपलब्ध हुन नसकी विदेशी सर्भेयर नियुक्त गर्नुपर्ने भएमा सोको स्पष्ट आधार र कारण खुलाई प्राधिकरणमा स्वीकृतिको लागि निवेदन दिनुपर्नेछ। 

निवेदन प्राप्त भएमा विदेशी सर्भेयरले इजाजात प्राप्त नेपाली सर्भेयरसँग संयुक्त सर्भे गर्ने गरी प्राधिकरणले स्वीकृति दिन सक्नेछ।

बीमा कम्पनीहरुले भने बीमितले दाबीको प्रक्रिया पुराउन धेरै समय लगाउने भएकाले दाबी समयमा नै दाबी भुक्तानी नहुने गरेको दाबी गर्दै आएका छन्।