काठमाडाैं । नेपाल सरकारले कूटनीतिक उपहारस्वरूप कतारलाई प्रदान गरेका दुई हात्ती बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विशेष कार्गो उडानमार्फत दोहाका लागि प्रस्थान गरेका छन् ।
कतार एयरवेजको क्यूआर ८८२४ उडान नम्बरको बोइङ ७७७ एफ फ्रेटर विमानमार्फत साँझ ५ बजेपछि ६ वर्षको भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षको पोथी हात्ती रुद्रकली कतार पठाइएको हो । विमानस्थल व्यवस्थापनका अनुसार उडान करिब चार घण्टामा कतार पुग्नेछ।
दुवै हात्ती मंगलबार चितवनबाट भैरहवा ल्याइएका थिए । उडानअघि बुधबार बिहान मौसम प्रतिकूल भएपछि जहाज भारतको कोलकाता डाइभर्ट गरिएको थियो । मौसम अनुकूल भएपछि विमान भैरहवा फर्किएर उडान सम्पन्न गरिएको हाे।
हात्तीहरूको स्वास्थ्य र सुरक्षाका लागि चितवनका एक जना पशु प्राविधिक, रुद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार प्रस्थान गरेका छन् । उनीहरूले केही समयसम्म त्यहाँ हात्तीको रेखदेख गर्ने र कतारी कर्मचारीलाई स्याहार–सुसारसम्बन्धी तालिम दिएपछि स्वदेश फर्किने छन् ।
नेपाल सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको २०८१ वैशाख ११ र १२ गते सम्पन्न नेपाल भ्रमणका क्रममा एक जोडी हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धता अनुसार दुई हात्ती कतार पठाइएको हो ।
खगेन्द्रप्रसाद २०७६ माघमा चितवनस्थित खगेन्द्रमली पोस्टमा कोशीकलीबाट जन्मिएको हो । ऊ हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा हुर्किएको हो । खगेन्द्रप्रसादकी आमा कोशीकली प्रशिक्षक हात्तीका रूपमा परिचित छिन् । खोरसर केन्द्रमा खगेन्द्रप्रसाद पर्यटक स्वागत तथा तालिम कार्यक्रममा प्रयोग हुँदै आएको थियो ।
रुद्रकली २०७५ सालमा हात्ती प्रजनन तथा तालिम केन्द्रमै पूजाकलीको कोखबाट जन्मिएकी थिइन् । जन्मेको तीन महिनामै आमाको मृत्यु भएपछि माउतेहरूको प्रत्यक्ष रेखदेखमा हुर्किएकी रुद्रकलीको बाबु जंगली हात्ती ‘रोनाल्डो’ रहेको निकुञ्जले पुष्टि गरेको छ । खगेन्द्रप्रसादको बाबु पनि सोही जंगली हात्ती रहेको जनाइएको छ ।
आर्थिकन्यूज