काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज (पुस ३ गते) देखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत बराबर हुने २० करोड रुपैयाँको २० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरिएको हो।
स्थानीयतर्फ छुट्याइएको शेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता प्रत्यक्ष प्रभावित क्षेत्र लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नं. ४ का बासिन्दालाई वितरण गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात ४ लाख कित्ता सोही गाउँपालिकाका वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का अप्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ।
यसैगरी सर्वसाधारणका लागि छुट्याइने शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख कित्ता साधारण शेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको हो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गते आवेदन दिन सकिनेछ।
आईपीओ रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
कम्पनीले सञ्चालन गरेको ७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत करिब १ अर्ब ८० करोड रुपैयाँ रहेको छ। आयोजनाबाट कम्पनीले २०८१ वैशाख ६ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् भने स्थानीय बासिन्दाले तोकिएका बैंक तथा सम्बन्धित कार्यालयबाट आवेदन दिन सक्नेछन्।
आर्थिकन्यूज