शीर्षकहरू

बीमा कम्पनीहरूको सोल्भेन्सी अनुपात सन्तोषजनक, अधिकांश दाबी भुक्तानी गर्न सक्षम

बीमा कम्पनीहरूको सोल्भेन्सी अनुपात सन्तोषजनक, अधिकांश दाबी भुक्तानी गर्न सक्षम

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरूमध्ये एकाध बाहेक अधिकांश कम्पनीहरू दाबी भुक्तानी गर्न सक्षम देखिएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार दुई जीवन बीमा कम्पनीको सोल्भेन्सी अनुपात बोर्डर लाइनमा रहेको देखिएको छ । बाँकी अधिकांश कम्पनीहरूको सोल्भेन्सी अनुपात प्राधिकरणले तोकेको न्यूनतम सीमा भन्दा माथि रहेको तथ्यांकले देखाएको छ ।

प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा तथा पुनर्बीमा कम्पनीका लागि न्यूनतम सोल्भेन्सी अनुपात १.३ तोकेको छ । लघु जीवन बीमकका लागि भने १.५ सोल्भेन्सी अनुपात कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार अधिकांश बीमा कम्पनीहरूको सोल्भेन्सी अनुपात २ भन्दा माथि नै रहेको छ ।

तथ्यांक अनुसार जीवन बीमा कम्पनीतर्फ रिलायबल नेपाल लाइफको सोल्भेन्सी अनुपात सबैभन्दा धेरै ३.६१ रहेको छ । सिटिजन लाइफ इन्स्योरेन्सको सोल्भेन्सी अनुपात ३.४१ छ । त्यसैगरी मेट लाइफको २.७०, आइएमई लाइफको २.२२, सूर्यज्योति लाइफको २.४६ र सन नेपाल लाइफको २.६३ सोल्भेन्सी अनुपात रहेको छ ।

अन्य जीवन बीमा कम्पनीहरूको सोल्भेन्सी अनुपात भने २ भन्दा कम रहेको छ । नेशनल लाइफ इन्स्योरेन्सको सोल्भेन्सी अनुपात १.३४, नेपाल लाइफको १.४४, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को १.४५, एशियन लाइफको १.३६, सानिमा रिलायन्स लाइफको १.४६, हिमालयन लाइफको १.८४ तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १.९६ रहेको छ ।

लघु जीवन बीमा कम्पनीमध्ये लिबर्टी माइक्रो लाइफको सोल्भेन्सी अनुपात १.५ रहेको छ । गार्डियन माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफको सोल्भेन्सी अनुपात समान रूपमा १.९७/१.९७ रहेको छ ।

प्राधिकरणले तोकेको न्यूनतम सीमा भन्दा बढी सोल्भेन्सी अनुपात हुनु राम्रो मानिन्छ । यसले कम्पनीको सम्पत्ति दायित्व भन्दा बढी रहेको अवस्था जनाउँछ । तर अत्यधिक सोल्भेन्सी अनुपात पनि राम्रो नहुने नेपाल बीमा प्राधिकरणका पूर्व निर्देशक दिनेशलाल कर्णले बताए । धेरै सोल्भेन्सी अनुपात हुनु भनेको कम्पनी चलायमान नभएको संकेत हुन सक्ने उनको भनाइ छ ।

निर्जीवन बीमा कम्पनीतर्फ दुई कम्पनीको सोल्भेन्सी अनुपात ४ भन्दा माथि रहेको छ । प्रभु इन्स्योरेन्सको सोल्भेन्सी अनुपात ४.६६ र नेपाल इन्स्योरेन्सको ४.३३ रहेको छ ।

पाँचवटा निर्जीवन बीमा कम्पनीको सोल्भेन्सी अनुपात ३ भन्दा माथि रहेको छ । नेको इन्स्योरेन्सको ३.८४, एनएलजी इन्स्योरेन्सको ३.४२, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.३२, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३.१८ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.४२ रहेको प्राधिकरणको तथ्यांक छ।

दि ओरिएन्टल इन्स्योरेन्सको सोल्भेन्सी अनुपात २.६५, शिखर इन्स्योरेन्सको २.६०, सानिमा जिआईसीको २.६२, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.७५ र युनाइटेड अजोड इन्स्योरेन्सको २.७३ रहेको छ । नेशनल इन्स्योरेन्स कम्पनीको सोल्भेन्सी अनुपात सबैभन्दा कम १.६७ रहेको छ । पुनर्बीमा कम्पनी हिमालयन रिको सोल्भेन्सी अनुपात ३.५२ रहेको छ।

बीमा कम्पनीको सोल्भेन्सी अनुपात भनेको कम्पनीको सम्पत्ति र दायित्वबीचको अनुपात हो, जसले कम्पनीको वित्तीय स्थिरता तथा जोखिम वहन क्षमताको मापन गर्छ । यसको मुख्य उद्देश्य भनेको भविष्यमा आउने दाबीहरू भुक्तानी गर्न सक्षम हुने गरी कम्पनीसँग पर्याप्त पूँजी सुनिश्चित गर्नु हो ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको सोल्भेन्सी अनुपातको नियमनका लागि विभिन्न निर्देशनहरू जारी गरेको छ । यसअनुसार कम्पनीहरूले आफ्नो पूँजी संरचना, लगानी नीति तथा जोखिम व्यवस्थापन प्रक्रियालाई ध्यानमा राख्दै सोल्भेन्सी अनुपात कायम गर्नुपर्ने व्यवस्था छ ।

सोल्भेन्सी अनुपात बीमा कम्पनीहरूको वित्तीय स्वास्थ्यको महत्वपूर्ण सूचक भएको प्राधिकरणका सहायक निर्देशक तथा चार्टर्ड एकाउन्टेन्ट विरोध बाग्लेले बताए । उच्च सोल्भेन्सी अनुपातले कम्पनीको जोखिम वहन क्षमता र दीर्घकालीन स्थिरताको संकेत गर्ने उनको भनाइ छ ।

सोल्भेन्सी अनुपात १.० देखि १.३ सम्म भएको बीमकलाई सुरक्षित मानिन्छ । यस्तो अवस्थामा कम्पनीमा खासै जोखिम नभएको मानिन्छ । १.३ देखि १.५ सम्मको अनुपातलाई अझ राम्रो अवस्था मानिन्छ, जहाँ दायित्व भन्दा सम्पत्ति बढी रहेको संकेत गर्छ । त्यसैले सोल्भेन्सी अनुपात १.३ भन्दा कम भएमा प्राधिकरणले कम्पनीलाई निगरानीमा राख्ने व्यवस्था छ।

सोल्भेन्सी अनुपात १.० भन्दा कम भएमा प्राधिकरणले नगद लाभांश वितरणमा रोक लगाउने, पूँजी वृद्धि गर्न निर्देशन दिने, सञ्चालक समिति परिवर्तन गराउने, लगानी तथा लाभांश वितरणमा प्रतिबन्ध लगाउने जस्ता कदम चाल्न सक्छ।

यस्तै, सोल्भेन्सी अनुपात ०.४५ देखि ०.७० सम्म भएको कम्पनीलाई उच्च जोखिमयुक्त मानिन्छ। यस्तो अवस्थामा प्राधिकरणले कडा निर्देशन दिन सक्छ। ती कम्पनीहरूलाई निश्चित व्यवसाय गर्न रोक लगाउने, सञ्चालक समिति परिवर्तन गराउने लगायतका हस्तक्षेप गर्न सक्ने व्यवस्था छ।

जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशनअनुसार कम्पनीहरूले आफ्नो जोखिम प्रोफाइलअनुसार पर्याप्त पूँजी कायम गर्नुपर्छ । सम्पत्ति र दायित्वको मूल्यांकन बजार मूल्य तथा सम्भावित भविष्य जोखिमका आधारमा गर्नुपर्ने व्यवस्था छ । जोखिममा आधारित पूँजी प्रणालीमार्फत जीवन बीमा जोखिम, साधारण बीमा जोखिम, बजार जोखिम, क्रेडिट जोखिम, आपतकालीन जोखिम (जस्तै भूकम्प, बाढी, पहिरो) तथा सञ्चालन जोखिमका लागि आवश्यक पूँजी निर्धारण गर्नुपर्ने हुन्छ।

निर्देशनले सोल्भेन्सी नियन्त्रणका विभिन्न स्तरहरू पनि निर्धारण गरेको छ । जोखिम बढेमा प्राधिकरणले कम्पनीमा सिधै हस्तक्षेप गर्न सक्ने व्यवस्था छ। प्राधिकरणले नयाँ व्यवसाय रोक्ने, पूँजी वृद्धि गर्न लगाउने वा व्यवस्थापन परिवर्तन गराउनेसम्मका कदम चाल्न सक्छ। साथै बीमकहरूले प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने व्यवस्था छ, जसमा लगानी, पुनर्बीमा, सञ्चालन जोखिम तथा वातावरणीय र जलवायु सम्बन्धी जोखिमहरू पनि समावेश गर्नुपर्ने उल्लेख छ।