काठमाडौं । धितोपत्रको दोस्रो बजारमा शेयरको आपूर्ति तीव्र रुपमा बढेको छ । बोनस शेयर, हकप्रद शेयर र नयाँ सूचीकृत धितोपत्रले बजारमा शेयर संख्या बढ्दै जाने तर त्यसको अनुपातमा माग सृजना नहुँदा शेयर बजार परिसूचक सीमित दायराभित्र उतारचढाव गर्दै साइडवेजको अवस्थामा रहेको छ ।
बैंकिङ प्रणालीमा तरलता सुधार भइरहेको छ । ब्याजदर न्युन स्तरमा रहेको छ । शेयर बजारमैत्री नीतिहरु पनि आइरहेको छन् । तर, लगानीकर्ताको विश्वास अझै पूर्ण रुपमा फर्किन नसक्दा शेयरको माग अपेक्षाकृत कम देखिएको हो । दोस्रो बजारमा शेयर आपूर्ति बढे पनि माग कमजोर हुनु लगानीकर्ताको मनोविज्ञानमा अस्थिरता र आर्थिक तथा राजनैतिक अनिश्चितताले शेयर बजारमा अपेक्षित सुधार हुन सकेको छैन्।
३६ अर्ब १६ करोडको थप धितोपत्र सूचीकृत, साढे १६ अर्बको निष्कासन अनुमति
चालु आर्थिक वर्ष २०८२-८३ को चार महिनामा कुल ३६ अर्ब १६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। यस अवधिमा १९ अर्ब २ करोड बराबरको साधारण सेयर, ५ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, ५ अर्ब बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४० करोड बराबरको डिबेन्चर, २ अर्ब ४० करोड बराबरको बोनस सेयर तथा ९२ करोड ५० लाख बराबरको एफपीओ सूचीकृत भएका छन्।
धितोपत्र बजारमा सूचीकृत रकम ठूलो देखिए पनि यसको ठूलो हिस्सा बोनस शेयर, हकप्रद सेयर र डिबेञ्चर बाट आएको छ । यसले बजारमा नयाँ नगद प्रवेशभन्दा पनि आन्तरिक पूँजी संरचना विस्तार बढी भएको संकेत गर्छ।
त्यस्तै, सार्वजनिक निष्कासनको अनुमति रकम सूचीकृत रकमभन्दा निकै कम हुनु बजारमा नयाँ कम्पनीहरुको प्रवेश सुस्त भएको देखाउँछ। बजारको अस्थिरता र नियामक कडाइका कारण प्राथमिक बजार अपेक्षित रुपमा चलायमान हुन नसकेको विश्लेषकहरुको भनाइ छ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १६ अर्ब ५७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । यसअवधिमा ९ अर्ब ४३ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र ३ अर्ब ३७ करोड बराबरको साधारण सेयर निष्काशनका लागि अनुमति दिएको हो ।
सूचीकृत कम्पनीहरू थपिए
२०८२ कात्तिकमसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २८३ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९७ जलविद्युत्कम्पनी, २४ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन्। २०८१ कार्तिकमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ रहेको थियो ।
सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटलको हिस्सा २.९ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.६ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म नेप्से परिसूचक २ हजार ५४० मा कायम भएको छ। गत आवको यसै अवधिमा २ हजार ७४८ अंकमा रहेको थियो । त्यस्तै, नेप्सेमा धितोपत्र बजारको पुँजीकरण ४२ खर्ब ६५ अर्ब ६८ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड थियो।
बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात पनि घटेको छ। २०८१ कात्तिक मसान्तमा यो अनुपात ७६.६७ प्रतिशत रहेकोमा २०८२ कात्तिक मसान्तमा घटेर ६९.८५ प्रतिशत पुगेको छ।
हालको परिस्थिति लगानीकर्ताको मनोविज्ञान सुधार, संस्थागत लगानी सक्रियता र नयाँ सार्वजनिक निष्कासनमा बढाउनुपर्ने अवस्था रहेको छ । यी पक्षहरु सुधारिएन भने दोस्रो बजार लामो समयसम्म साइडवेजमा सीमित रहन सक्ने सम्भावना उच्च रहेको विश्लेषकहरु बताउँछन् ।
नेप्से तथा नियामक निकायले सन्तुलित बजार वातावरण सुनिश्चित गर्न लगानी प्रवाह र प्राथमिक बजार गतिविधिलाई प्रोत्साहित गर्ने रणनीति अगाडि बढाउनु आवश्यक देखिन्छ । साथै बजार सुधारका लागि नयाँ लगानी आकर्षण, प्राथमिक बजार गतिविधि र संस्थागत लगानीको सक्रियता बढाउन आवश्यक देखिन्छ ।
आर्थिकन्यूज