काठमाडौं। वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकमध्ये पछिल्लो दुई वर्षमा ३१८ जनाले विदेशमै आत्महत्या गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार, विगत दुई वर्षमा मलेसियामा रोजगारीमा गएका १०१ जना नेपाली श्रमिकले आत्महत्या गरेका छन्।
त्यसैगरी, साउदी अरबमा ८३, कतारमा ५३, संयुक्त अरब इमिरेट्स (युएई) मा ५९, कुवेतमा १०, साउथ कोरिया र बहराइनमा तीन/तीन, र जापान, रोमानिया र ओमानमा दुई/दुई जनाले आत्महत्या गरेका छन्।
मन्त्रालयका अनुसार विगत दुई वर्षमा विभिन्न कारणले २,४८५ जनाको मृत्यु भएको छ। मृत्यु हुने कारणमध्ये आत्महत्या प्रमुख कारण बनेको देखिएको छ। पछिल्लो समयमा मलेसिया र साउदी अरब मात्र नभई युरोपियन मुलुकमा गएका नेपाली युवा श्रमिकले पनि आत्महत्या गर्न थालेको तथ्यांकले देखाउँछ।
श्रमिकले आत्महत्या गर्ने प्रमुख कारणमध्ये डिप्रेसन (अवसाद) रहेको श्रम विज्ञहरूले बताएका छन्। नेपालमै बसेर विदेशको कल्पना गर्नु र वास्तविक जीवनमा पुगेर त्यो अवस्था भोग्नुमा ठूलो भिन्नता हुन्छ। त्यसैले विदेश पुगेपछि श्रमिकहरू डिप्रेसनमा पुग्ने गरेको विज्ञहरूले उल्लेख गरेका छन्।
काम गर्ने वातावरण, खानपान, सामाजिक सम्बन्ध र परिवारबाट टाढा रहनुजस्ता कारणले श्रमिकहरू डिप्रेसनमा जाने गरेका छन्। डिप्रेसनको समयमा उपचारको पहुँच नहुँदा र आफ्नो समस्या अरूलाई व्यक्त गर्न नसक्दा, धेरै श्रमिकहरूले आत्महत्याको बाटो रोज्ने गरेका छन्। कतिपय युवाहरू परिवारिक र सामाजिक सम्बन्धको समस्याका कारण पनि डिप्रेसनमा पुग्ने गरेका छन्।
मन्त्रालयका अनुसार विगत दुई वर्षमा १३८ जनाको मृत्यु कार्डियाक अरेष्ट, र १४७ जनाको मृत्यु हृदयघातका कारण भएको छ। कार्डियाक अरेष्टका कारण सबैभन्दा धेरै युएईमा ४०, कतारमा २५, मलेसियामा २४, कुवेतमा २२, बहराइनमा ५, जापानमा २ र रोमानियामा १ जनाको मृत्यु भएको छ।
हृदयघातका कारण मलेसियामा ४२, कतारमा ३६, युएईमा २९, कुवेतमा १२, साउथ कोरिया ४, बहराइन ५ र जापानमा १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
श्रम विज्ञहरुका अनुसार श्रमिकले दैनिक खानपानमा ध्यान नदिनु, अत्यधिक गर्मीमा काम गर्नु, एसीको चिसो कोठामा आराम गर्नु र तातो–चिसोको सन्तुलनले मिलाउन नसक्नुले हृदयघात र कार्डियाक अरेष्टको जोखिम बढेको हो।
मलेसियामा धेरै नेपालीहरूले अखाद्य बस्तु मिसाइएको पेय पदार्थ पिउँदा हृदयघातको मृत्यु हुने गरेको पनि रिपोर्टमा देखिएको छ।
साउदी अरबमा २५८, मलेसियामा ३७, कतारमा ९२, युएईमा ५९, कुवेतमा २०, साउथ कोरिया र बहराइनमा ४/४, जापान र रोमानियामा १/१, र ओमानमा २ जनाको प्राकृतिक मृत्यु भएको तथ्यांक मन्त्रालयले जनाएको छ।
विदेशमा श्रमिकको मृत्यु कारणमा “प्राकृतिक मृत्यु” भन्ने शब्दलाई असहज रुपमा लिन थालिएको छ। सामान्यतया उमेर पुगेपछि हुने मृत्युलाई प्राकृतिक मृत्यु भनिन्छ। तर, नेपालबाट स्वास्थ्य परीक्षणमा फिट भएर काममा गएका श्रमिकको मृत्युलाई प्राकृतिक मृत्यु भन्नु शंकास्पद रहेको विज्ञहरूले बताएका छन्। नेपालमा यस विषयमा बहस भए पनि, गन्तव्य मुलुकमा स्पष्ट जानकारी माग गर्न नेपालले पर्याप्त दबाब दिन सकेको छैन।
विदेशमा नेपाली श्रमिकको मृत्युको अर्को प्रमुख कारण ट्राफिक दुर्घटना हो। साउदी अरबमा ९९, मलेसियामा ४०, कतारमा ७२, युएईमा ३४, कुवेतमा ९, साउथ कोरिया ५, जापानमा १, रोमानियामा ३ र ओमानमा ५ जनाको मृत्यु ट्राफिक दुर्घटनामा भएको छ।
विदेशमा ट्राफिक नियम कडा हुन्छ। नेपालबाट जाने नेपाली श्रमिकले नियम पालना नगर्दा दुर्घटना हुने गरेको हो। सरकारले पूर्व–प्रस्थान अभिमुखीकरण तालिम अनिवार्य गरेको भए पनि धेरै श्रमिकले तालिम नलिने गरेको विज्ञहरूले बताएका छन्।
कार्यस्थल दुर्घटनाबाट साउदी अरबमा ३७, मलेसियामा १३, कतारमा १२, युएईमा ४, साउथ कोरिया र कुवेतमा २/२ जनाको मृत्यु भएको छ।
अन्य कारणले मृत्यु हुने संख्या साउदी अरबमा १७०, मलेसियामा ३७४, कतारमा १८४, युएईमा १९२, कुवेतमा ५८, साउथ कोरिया ३०, बहराइन र जापानमा १९/१९, रोमानियामा १५ र ओमानमा ५ रहेको मन्त्रालयले जनाएको छ।
मुना कुँवर