शीर्षकहरू

‘बाँसलाई निर्माण सामग्रीका रुपमा प्रयोग गरौँ’

‘बाँसलाई निर्माण सामग्रीका रुपमा प्रयोग गरौँ’

काठमाडौँ। सहरी विकासमन्त्री कुलमान घिसिङले बाँसलाई रैथाने नेपाली निर्माण सामग्रीका रुपमा प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने बताएका छन्।

उनले निर्माण सामग्रीका रुपमा बाँसलाई प्रयोग गर्न सके रोजगारी सिर्जना भई ग्रामीण अर्थतन्त्र मजबुत हुने धारणा राखे। उनले आयातित निर्माण सामग्रीलाई निरुत्साहित गर्दै व्यापार घाटा कम गर्नसमेत यसले मद्दत पुग्ने बताए।

आकाशबाट हेर्दा नेपालका बस्तीहरुको छानो जस्ताले ढाकेको देखिएकामा उनले बाँसकै प्रयोगबाट जस्ताको विकल्पसमेत खोज्न सुझाए। बाँसको व्यावसायिक खेती प्रोत्साहन गर्दै यसलाई हरित निर्माण सामग्रीको प्रयोगले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए। बाँसबाट निर्माण हुने संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन-२०८२ विमोचन गर्दै उनले हाइड्रोपावरका कन्स्ट्रक्सन क्याम्पहरु निर्माणमा समेत बाँसको प्रयोग गरिनुपर्ने बताए।

सहरी विकास मन्त्रालय र ह्याबिटाट फर ह्युमानिटी नेपाल संस्थाको संयुक्त आयोजनामा शुक्रबार मार्गदर्शन विमोचन गरिएको हो। कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधि, इन्जिनियरिङ समुदायका विज्ञहरुको उपस्थिति थियो।

ह्याबिटाट फर ह्युमानिटी नेपाल प्रमुख एलिजा स्थापितले मार्गदर्शन जारी भएकामा खुसी व्यक्त गर्दै यस ऐतिहासिक कार्यप्रति सहरी विकास मन्त्रालयलाई धन्यवाद दिइन्। उनले भविष्यमा बाँसको प्रवर्द्धनात्मक कार्यहरुमा संस्थाबाट सदैव सहयोग रहने बताइन्।

मार्गदर्शनले बाँसको कटाइ, ग्रेडिङ, रासायनिक उपचार, भण्डारण र प्रयोगकालगायत विषयमा स्पष्ट मापदण्ड तोकेको छ। बाँसको प्रयोगद्वारा भूकम्प प्रतिरोधी, वातावरणमैत्री र लागत-किफायती संरचना निर्माण गर्न सकिने सरल तथा सहज ढंगको डिजाइन विधि र आवश्यक विस्तृतीकरणसहित घरका नमुना डिजाइन समावेश गरिएको छ।