काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमितले दाबी गरेको साढे सात अर्ब रुपैयाँ भुक्तानी नै गरेका छैनन् । नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीहरुले आर्थिक वर्ष २०८१/८२ सम्ममा सात अर्ब ५० करोड रुपैयाँ भुक्तानी नै गरेका छैनन् ।
बीमा नियमावली अनुसार बीमितले दाबी भुक्तानीका लागि निवेदन दिएको १५ दिन भित्रमा दाबी भुक्तानी गर्नुपर्नेछ । तर, कम्पनीहरुले भने बर्षोसम्म बीमितको दाबी भुक्तानी गरेका छैनन् । प्राधिकरणका अनुसार आव २०८०/८१ सम्म कम्पनीहरुले भुक्तानी गर्न बाँकी रहेको दाबी रकम पाँच अर्ब ११ करोड रुपैयाँ थियो । आव २०७९/८० सम्म भने पाँच अर्ब ३१ करोड रुपैयाँ बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाएको हो ।
जीवन बीमा कम्पनीले सावधिक, पूर्ण जीवन र म्यादी जीवन बीमा पोलिसी विक्री गर्छन् । पोलिसीको निश्चित अवधि हुन्छ । तोकिएको अवधि सकिएपछि पोलिसी परिपक्व हुन्छ । पोलिसी परिपक्व भएपछि कम्पनीले बीमांक रकम र बोनस रकम जोडर एकमुष्ट रुपमा बीमितलाई भुक्तानी गर्नुपर्छ ।
यस्तै, जीवन बीमा पोलिसीमा विभिन्न राइडर हुन्छन् । दुर्घटना, घातक रोग लगायतका सुविधा लिएको अवस्थामा बीमितले पोलिसी परिपक्क हुनु अगावै पनि दाबी गर्न सक्छन् । तर, बीमितहरुले दाबी गर्दा कम्पनीहरुले समयमा नै भुक्तानी नगर्ने गरेको बीमितहरुको गुनासो छ । बीमा गर्न सहज छ तर, भुक्तानी लिन भने कठिन हुने गरेको बीमितहरु सुनाउँछन् ।
बीमा दाबी लिदा कम्पनीहरुले विभिन्न कागजपत्र माग गर्ने र अनावश्यक दुख दिने गरेको बीमितहरु बताउँछन् । कम्पनीहरुकै तथ्यांक अनुसार पनि कम्पनीहरुले दाबी परेको रकममध्ये करोडौ रुपमा भुक्तानी गरेका छैनन् ।
प्राधिकरणका अनुसार राष्ट्रिय बीमा संस्थानको आव २०८१/८२ सम्म भुक्तानी गर्न बाँकी रहेको दाबी रकम ७३ करोड ४३ लाख रुपैयाँ छ । आव २०८०/८१ सम्म ६८ करोड १३ लाख रुपैयाँ थियो भने आव २०७९/८० सम्म ९१ करोड ९० लाख रुपैयाँ बाँकी थियो ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको आव २०८१/८२ सम्म भुक्तानी गर्न बाँकी रहेको दाबी रकम दुई अर्ब २ करोड रुपैयाँ छ । आव २०८०/८१ सम्म ५८ करोड ८९ लाख रुपैयाँ थियो भने आव २०७९/८० सम्म ९४ करोड १० लाख रुपैयाँ रहेको प्राधिकरणको तथ्यांक छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आव २०८१/८२ सम्म भुक्तानी गर्न बाँकी रहेको दाबी रकम दुई अर्ब ५१ लाख रुपैयाँ थियो । आव २०८०/८१ सम्म एक अर्ब ६६ करोड र आव २०७९/८० सम्म एक अर्ब ३८ करोड रुपैयाँ रहेको प्राधिकरणको तथ्यांक छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनको आव २०८१/८२ सम्म भुक्तानी गर्न बाँकी रहेको दाबी रकम ९९ करोड २८ लाख रुपैयाँ थियो । आव २०८०/८१ सम्म ४० करोड ६७ लाख रुपैयाँ थियो भने आव २०७९/८० सम्म ३८ करोड २३ लाख रुपैयाँ थियो ।
मेट लाइफको आव २०८१/८२ सम्म भुक्तानी गर्न बाँकी रहेको दाबी रकम ५१ करोड ६ लाख रुपैयाँ थियो । आव २०८०/८१ सम्म ५४ करोड १४ लाख थियो भने आव २०७९/८० सम्म ६० करोड १ लाख रुपैयाँ थियो ।
एशियन लाइफ लाइफ इन्स्योरेन्स कम्पनीको आव २०८१/८२ सम्म भुक्तानी गर्न बाँकी रहेको दाबी रकम सात करोड १८ लाख रुपैयाँ छ । आव २०८०/८१ सम्म भने सात करोड १४ लाख रुपैयाँ थियो भने आव २०७९/८० सम्म आठ करोड ३ लाख रुपैयाँ थियो ।
आइएमई लाइफ इन्स्योरेन्सले आव २०८१/८२ सम्म बीमितहरुको ३२ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेको छैन । कम्पनीले आव २०८०/८१ सम्म ३२ करोड ४० लाख भुक्तानी गरेको थिएन भने आव २०७९/८० सम्म तीन करोड ९ लाख रुपैयाँ भुक्तानी गरेको थिएन् ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आव २०८१/८२ सम्म बीमितहरुको दुई करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छैन । आव २०८०/८१ सम्म कम्पनीले दाबी भुक्तानी नगरेका रकम एक करोड ७८ लाख रुपैयाँ थियो भने आव २०७९/८० सम्म एक करोड ६९ लाख रुपैयाँ थियो ।
रिलायबल नेपाल लाइफको आव २०८१/८२ सम्म बीमितहरुको तीन करोड ५ लाख रुपैयाँ दाबी भुक्तानी भएको छैन । आव २०८०/८१ सम्म यस्तो भुक्तानी नभएको दाबी रकम चार करोड ५६ लाख रुपैयाँ थियो भने आव २०७९/८० सम्म ५९ लाख रुपैयाँ थियो ।
सिटिजन लाइफको आव २०८१/८२ सम्म बीमितहरुको १२ करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी भएको छैन । आव २०८०/८१ सम्म यस्तो भुक्तानी नभएको दाबी रकम १४ करोड ४८ लाख रुपैयाँ थियो भने आव २०७९/८० सम्म १६ करोड ९५ लाख रुपैयाँ थियो ।
सूर्य ज्योति लाइफको आव २०८१/८२ सम्म बीमितहरुको नौ करोड ४९ लाख रुपैयाँ दाबी भुक्तानी भएको छैन । आव २०८०/८१ सम्म यस्तो भुक्तानी नभएको दाबी रकम चार करोड २० लाख रुपैयाँ थियो भने आव २०७९/८० सम्म ६ करोड ७४ लाख रुपैयाँ थियो ।
सानिमा रिलायन्स लाइफको आव २०८१/८२ सम्म बीमितहरुको ४१ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी भएको छैन । आव २०८०/८१ सम्म यस्तो भुक्तानी नभएको दाबी रकम ४५ करोड ३३ लाख रुपैयाँ थियो भने आव २०७९/८० सम्म ६० करोड ८० लाख रुपैयाँ थियो ।
हिमालयन लाइफ इन्स्योरेन्सको आव २०८१/८२ सम्म बीमितहरुको १४ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी भएको छैन । आव २०८०/८१ सम्म यस्तो भुक्तानी नभएको दाबी रकम १२ करोड ९१ लाख रुपैयाँ थियो भने आव २०७९/८० सम्म ७ करोड ८४ लाख रुपैयाँ थियो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आव २०८१/८२ सम्म बीमितहरुको एक करोड ९६ लाख रुपैयाँ दाबी भुक्तानी भएको छैन । आव २०८०/८१ सम्म यस्तो भुक्तानी नभएको दाबी रकम एक करोड ५८ लाख रुपैयाँ थियो भने आव २०७९/८० सम्म दुई करोड ६३ लाख रुपैयाँ थियो ।
लघुजीवन बीमा कम्पनीमध्ये क्रेष्ट माईक्रो लाइफ इन्स्योरेन्स कम्पनी र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको ९ लाख रुपैयाँ दाबी रकम फिर्ता गरेका छैनन् ।
बीमा नियमावली २०८१ को नियम १० अनुसार बीमकले जीवन बीमा परिपक्व हुनुभन्दा सात दिन अगावै त्यस्तो जीवन बीमाको दाबी भुक्तानीको लागि बीमित वा बीमालेख धारकको नाममा लिखित सूचना जारी गर्नुपर्नेछ ।
बीमित वा बीमालेख धारकले जीवन बीमाको दाबी भुक्तानीको निमित्त कागजात वा विवरण बीमक समक्ष पेस गरेमा बीमकले आवश्यक जाँचबुझ गरी जीवन बीमालेखको अवधि भुक्तान भएको सात दिनभित्र बीमितलाई जीवन बीमाको दाबी भुक्तानी दिनुपर्नेछ ।
कुनै जीवन बीमालेख अवधि समाप्त हुनु अगावै बीमितको मृत्यु भएमा भुक्तानी पाउने व्यक्तिले त्यस्तो जीवन बीमाको रकम लिनको लागि दाबी भुक्तानी विवरण, बीमितको मृत्यु दर्ता प्रमाणपत्र, प्रहरी प्रतिवेदन र बीमितसँगको नाता प्रमाणपत्र पेस गर्नुपर्नेछ । नियम अनुसार निवेदन प्राप्त भएपछि बीमकले जाँचबुझ गरी १५ दिन भित्रमा दाबी भुक्तानी गर्नुपर्नेछ ।
आर्थिकन्यूज