काठमाडौं। अमेरिकामा अवैध बस्दै आएका तथा कानुनको उल्लंघन गरेका ७६ जना नेपाली बिहीबार एकैदिन डिपोर्ट भएका छन्। उनीहरूलाई चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फिर्ता पठाइएको नेपाल प्रहरीले जनाएको छ।
डिपोर्ट हुनेमा ७२ पुरुष र ३ महिला रहेका छन्। उनीहरू अधिकांश अवैध बाटो (तल्लोबाटो) हुँदै अमेरिका पुगेका व्यक्तिहरू रहेको छ। त्यसमध्ये २ जना भिजिट भिसामा बसेका र एक व्यक्ति ३० वर्षदेखि अमेरिका बस्दै आए पनि पीआर कार्ड नवीकरण नगरेका हुन्।
अमेरिकाबाट फर्काइएका नेपालीहरूले एक करोड रुपैयाँसम्म बिचौलियालाई बुझाएर अमेरिका पुगेको उल्लेख गरिएको छ। डिपोर्ट भएका व्यक्तिहरूलाई अध्यागमन कार्यालयले बुझाएर थप अनुसन्धानको लागि मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाउने प्रक्रिया सञ्चालनमा छ।
अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको कार्यकाल (२०२५ जनवरी २० देखि) सुरु भएयता मात्रै ४३९ जना नेपाली डिपोर्ट भइसकेका छन्। पछिल्लो ७ वर्षमा अमेरिकाबाट डिपोर्ट भएका नेपालीको संख्या ६६६ जना पुगिसकेको छ। यसअघि भदौ १९ गते ३७ जना र जेठ २५ गते ३७ जना नेपाली डिपोर्ट भएका थिए।
अमेरिकी प्रशासनले ट्रम्पको कार्यकालमा आप्रवासी नीतिमा कडाइ गर्दै, १४ लाख ४५ हजारभन्दा बढी विदेशीलाई देश निकाला गर्ने प्रक्रिया अघि बढाएको थियो, जसमा १,३६५ नेपाली पनि समावेश थिए।
आर्थिकन्यूज