शीर्षकहरू

काठमाडौंमा घर निर्माण फेस्टमा प्रदर्शन हुँदै विश्वकै सबैभन्दा ठूलो इट्टा, २ सय करोडको कारोबार अपेक्षा

काठमाडौंमा घर निर्माण फेस्टमा प्रदर्शन हुँदै विश्वकै सबैभन्दा ठूलो इट्टा, २ सय करोडको कारोबार अपेक्षा

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगामी पुस १२ देखि १५ गतेसम्म आयोजना हुन लागेको घर निर्माण फेस्टको मुख्य आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो इट्टा प्रदर्शन गर्न लागिएको छ। यो इट्टा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश गर्ने तयारीमा रहेको छ।

सन् २००७ जुलाई ४ मा अमेरिकाको टेक्सासमा निर्माण भएको इट्टाको लम्बाइ २९४ मिटर (९ फिट ८ इन्च) र उचाइ तथा चौडाइ ०.९९ मिटर (३ फिट ३ इन्च) रहेको थियो। यसभन्दा ठूलो आकारको इट्टा निर्माण गरी नयाँ कीर्तिमान कायम गर्ने उद्देश्य राखिएको हो।

फेस्टमा ४० हजारभन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ। विश्वकै ठूलो इट्टा पूर्ण रूपमा नेपाली कच्चा पदार्थ, नेपाली कालीगढको सीप र नेपाली प्रविधि-सोचको प्रयोगबाट तयार गरिएको छ। यसले नेपालको परम्परागत इट्टा बनाउने कला, निर्माण प्रविधि र श्रमिकको दक्षता सक्षम र प्रतिस्पर्धी रहेको प्रमाणित गर्छ। विदेशी प्रविधिमा निर्भर नगरी स्वदेशी स्रोतको अधिकतम प्रयोग गरी विशाल संरचना निर्माण गर्नु नेपाली सीपको आत्मनिर्भरता र मौलिकताको प्रतीक हो।

यस परियोजनाले नेपाललाई आफ्नो निर्माण कला, प्रविधि र नवप्रवर्तन क्षमता विश्वसामु प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ। गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश हुने लक्ष्यले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान विस्तार गर्न सहयोग गर्नेछ। यसले विदेशी दर्शक, लगानीकर्ता र पर्यटकलाई नेपाली निर्माण उद्योगतर्फ आकर्षित गर्दै नेपाललाई विश्वस्तरीय उपलब्धि हासिल गर्न सक्षम छ भन्ने सन्देश दिनेछ।

विश्वकै सबैभन्दा ठूलो इट्टाले नेपाललाई एक फरक र स्मरणीय पहिचान दिनेछ। यो केवल आकारको प्रतिस्पर्धा मात्र नभई नेपाली मेहनत, सिर्जनशीलता र आत्मविश्वासको प्रतीक हो। यस्ता उपलब्धिले नेपाललाई केवल प्राकृतिक सौन्दर्यको देश मात्र नभई सीप र कौशलको देश भएको पहिचान स्थापित गर्दै राष्ट्रिय गौरवलाई मजबुत बनाउँछ।

घर निर्माण फेस्टमा राखिने इट्टा दर्शकको प्रत्यक्ष अवलोकनका लागि उपलब्ध हुनेछ। सहभागीहरूले यसको आकार, बनावट र विशेषता बुझ्न सक्नेछन्। साथै, ऐतिहासिक क्षणलाई सम्झनाका लागि फोटो खिच्न पनि सुविधा प्रदान गरिएको छ।

फेस्टमा “जे गर्छौं नेपालमै गर्छौं” भन्ने नारासहित आयोजना गरिने चार दिनको प्रदर्शनीमा २ सय करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। यस फेस्टमा घर निर्माणसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया – तयारीदेखि निर्माणसम्पन्नसम्मका सबै चरणको प्रत्यक्ष प्रदर्शन गरिनेछ। अवलोकनकर्ताले घर निर्माणसम्बन्धी जिज्ञासा, निर्माण सामग्रीको छनोट, डिजाइन, लागत, गुणस्तर तथा आधुनिक प्रविधिबारे विशेषज्ञसँग जानकारी लिन सक्नेछन्।

फेस्टमा सहभागी विभिन्न ब्राण्डले ग्राहक लक्षित विशेष अफरहरू पनि सार्वजनिक गर्ने तयारी गरेका छन्। नेपालमा निर्माण र व्यावसायिक गतिविधि बढ्दासम्म पनि धेरै ब्राण्डहरूले प्रभावकारी रूपमा आफ्नो उत्पादन प्रस्तुत गर्न चुनौती भोग्दै आएका छन्। यस समस्याको समाधान गर्दै घर निर्माण फेस्टले निर्माण व्यवसायलाई प्राविधिक प्रयोग र व्यवस्थित प्रदर्शनमार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्य राखेको छ।