शीर्षकहरू

सरिफ उस्मानको निधनपछि ढाकामा हिंसात्मक प्रदर्शन चर्कियो, शेख मुजीबको घरमा आक्रमण

ढाकाको कावरान बजार स्थित अखबार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार

सरिफ उस्मानको निधनपछि ढाकामा हिंसात्मक प्रदर्शन चर्कियो, शेख मुजीबको घरमा आक्रमण

ढाका। इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शनहरू निरन्तर जारी रहेको छ ।

डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडिया हाउसका कार्यालयहरूलाई लक्षित गरिएको एक रातको हिंसात्मक अशान्तिपछि प्रदर्शनकारीहरूले राष्ट्रपिता शेख मुजीबुर रहमानको आंशिक रूपमा ध्वस्त घरमा पुगेर आफ्नो आक्रोश प्रकट गरेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार प्रदर्शनकारीहरूले घरको बाँकी संरचना भत्काउने प्रयास गर्नुका साथै त्यहाँ टाँसिएको पूर्व प्रधानमन्त्री शेख हसिनाको पोस्टरमा आगो लगाउने प्रयास गरेको देखिएको छ ।

उस्मान हादीको मृत्यु पश्चात् देशभर अशान्ति फैलिँदै गएपछि इन्किलाब मोन्चोले आम नागरिकहरूलाई संयम अपनाउन आग्रह गरेको छ । बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको एक पोस्टमा सङ्गठनले हिंसा, तोडफोड तथा आगजनी नगर्न स्पष्ट अपिल गरेको छ । पोस्टमा भनिएको छ, “विनाश र आगोको माध्यमबाट केही समूहले बङ्गलादेशलाई एक अप्रभावी राज्य बनाउने लक्ष्य राखिरहेका छन् । उनीहरू हाम्रो देशको स्वतन्त्रता र सार्वभौमसत्तालाई कमजोर पार्न खोजिरहेका छन् । तपाईंहरूले बुझ्नै पर्छ—३२ र ३६ एउटै होइन ।”

उक्त सन्देशमा थप भनिएको छ, “फेब्रुअरीको निर्वाचन नजिकिँदै गर्दा देशमा अशान्ति सिर्जना भएमा वास्तवमा कसलाई फाइदा पुग्छ भन्ने गम्भीरतापूर्वक विचार गर्नुहोस् । बङ्गलादेशमा स्थिरता कायम राख्न सरकारलाई पूर्ण सहयोग गर्नुहोस् र कुनै पनि प्रकारको हिंसाबाट टाढा रहनुहोस् ।”

यसैबीच, अङ्ग्रेजी भाषाको प्रतिष्ठित दैनिक द डेली स्टारको कार्यालयमा भएको तोडफोडपछि भवनको छतमा फसेका एक जना पत्रकारले आफ्नो कष्टप्रद अनुभव सार्वजनिक गरेका छन् । उनका अनुसार भीडको एक समूहले प्रथम आलोको कार्यालयमा आक्रमण गरेपछि द डेली स्टारको भवनतर्फ अगाडि बढेको बाहिरबाट आएको फोन कलमार्फत जानकारी प्राप्त भएपछि उनीहरू सतर्क भएका थिए ।

चेतावनी प्राप्त भएपछि समाचार कक्षमा कार्यरत कर्मचारीहरूले सुरक्षित रूपमा भवन खाली गर्ने प्रयास गरे । तर, त्यतिन्जेलसम्म भीडले भुइँतलासम्म पुगेर व्यापक तोडफोड गरिसकेको थियो र त्यसपछि भवनमा आगो लगाइएको थियो । बाक्लो धुवाँ फैलिँदै गएपछि तल झर्न असम्भव देखेर पत्रकारहरूको समूहले १० औँ तलाको छततर्फ भागेर ज्यान जोगाउनुपरेको थियो ।

केही समयपछि फायर सर्भिसका कर्मचारीहरू घटनास्थलमा पुगे र तल्लो तलामा लागेको आगो नियन्त्रणमा लिन सफल भए । उद्धार कार्यका क्रममा चार जना अग्नि नियन्त्रकहरू छतमा पुगेर त्यहाँ फसेका व्यक्तिहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको बताइएको छ ।

घटनापछि उत्पन्न असुरक्षा र क्षतिको अवस्थाका कारण शुक्रबार प्रथम आलो र द डेली स्टार दुवै पत्रिका प्रकाशित नहुने जनाइएको छ । 

 अखबार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार

ढाकाको कावरान बजार स्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउदा कार्यलयमै फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्यालयबाट उद्धार गरिएको बीडी न्यूजले जनाएको छ ।

बिडी न्यूजका अनुसार आक्रोशित भीड शुक्रबार अखबारको कार्यालयमा आइ आगो लगाउनु अघि तोडफोड गरी नारा लगाएको र आगो लगाएको जनाइएको छ । भिडले उनीहरूको बाटो अवरुद्ध गरेको कारण केही समयका लागि अग्निशमन सेवा भवनमा पुग्न नसकेको पत्रकारहरूलाई उदृत गर्दै बिडी न्यूजले जनाएको छ ।

फोन र सामाजिक सञ्जाल मार्फत सहयोग र ज्यान बचाउन आग्रह गर्दै छतमा भागेको र दमकलकर्मीहरू अन्ततः घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिइ उद्धार गरेको उनीहरुलाई उदृत गर्दै बिडी न्युजले जनाएको छ ।

बिडी न्यूजका अनुसार घटना स्थलमा सुरक्षाको लागि सेना तैनाथ गरिएको छ । पछि न्यु एजका सम्पादक नुरुल कबिर सँगै पत्रकारहरूलाई बाहिर निकाल्दै सैनिकहरू देखिएको जनाइएको छ ।

बङ्गलादेशका अन्तरिम सरका प्रमुख मुहम्मद युनुसले राष्ट्रमा शान्ति कायम राख्न र कानून प्रवर्तनलाई व्यावसायिक रूपमा अनुसन्धान गर्न अनुमति दिन नागरिकहरूलाई अपिल गर्दै सरकार विधिको शासन कायम राख्न र लोकतान्त्रिक प्रगतिलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन।

राष्ट्रलाई सम्बोधन गर्दै युनुसले भने “म देशका सबै नागरिकहरूलाई धैर्य र संयमता कायम राख्न आग्रह गर्दछु ।”