शीर्षकहरू

रवि लामिछाने थुनामुक्त, पार्टी जिम्मेवारीमा फर्किँदै

न्यायको लडाइँ अझ बाँकी : रवि लामिछाने

रवि लामिछाने थुनामुक्त, पार्टी जिम्मेवारीमा फर्किँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार रुपन्देही जिल्ला अदालतबाट पूर्जी लिएर औपचारिक रुपमा थुनामुक्त भएका छन्।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बिहीबार उनलाई शर्तसहित थुनामुक्त गर्ने आदेश दिएको थियो। अदालतले विदेश जानुपर्दा अनुमति लिनुपर्ने शर्त समेत राखेको छ। नख्खु कारागारबाट रिहा भएपछि लामिछानेलाई प्रहरीको साथमा भरतपुर हुँदै भैरहवा पुर्‍याइएको थियो।

उनी हाल सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा थिए। उक्त मुद्दामा उनी अदालतबाट पूर्जी लिएर थुनामुक्त भएका हुन्। रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार, अदालतले केही सर्त र बैंक जमानतको प्रक्रिया पूरा गरेपछि उनलाई रिहा गरेको हो।

उच्च अदालतको आदेशअनुसार रविले जिल्ला अदालतले सुरुमा माग गरेको बिगोवापतको दुई करोड ७४ लाख ८४ हजार र एक करोड धरौटी गरी तीन करोड ७४ लाख ८४ हजार प्रभु बैंकमा जमानतमा बुझाएपछि रिहा गरिएको हो।छि फैसला हुँदा धरौटी र बिगोवापतको जमानतभन्दा बढी फैसला भएको खण्डमा स्वीकार गर्नुपर्ने जनाइएको छ ।

रवि, छवि र जीबीसहित चार जनाले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ । रविले यही बिगो भाग लगाउँदा आफ्नो भागमा पर्ने जम्मा गरेर रिहा गर्न माग गरेका थिए । जसलाई उच्च अदालतले स्वीकार गरेको हो ।

विसं २०८१ माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर त्यस विरुद्ध दुवै पक्ष उच्च अदालत पुगेका थिए । उच्च अदालतले २०८१ चैतमा रविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा रवि लामिछानेलाई रास्वपाका कार्यकर्ताले बलजफ्ती कारागारबाट निकाल्न पुगेका थिए। तर केही दिनमै उनी फेरि नख्खु जेलमा फर्कनु परेको थियो।

अब रविले जेलबाहिर रहेर आफ्ना राजनीतिक गतिविधि सञ्चालन गर्न पाउनेछन्। थुनामुक्त भएपछि रवि लामिछाने पार्टीको रणनीति, चुनावी तयारी र राजनीतिक गतिविधि सञ्चालनमा प्रत्यक्ष संलग्न हुने अपेक्षा गरिएको छ। यसले पार्टीभित्रको स्थिरता र नेतृत्व संरचनामा पनि प्रभाव पार्ने छ।

रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “उच्च अदालतको आदेश प्रति पार्टी सम्मान व्यक्त गर्दछ। कानुनी र प्रशासनिक प्रक्रिया पूरा भएपछि सभापति लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्कनेछन्। पार्टी सधैँ विधि, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको छ।”

न्यायको लडाइँ अझ बाँकी 

रिहा भएपछि लामिछानेले न्यायको लडाइँ अझ बाँकी रहेको बताएका छन्। उनले भने, “न्यायको यो लडाइँ मेरो बाँकी नै छ। मैले अझ धेरै लड्नु छ र मैले अहिले लड्नुपर्छ। लड्न बाँकी छ भनेको मेरो लागि मात्र होइन, तपाईंका लागि, यो देशको न्यायका लागि हो। यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि मेरो अन्याय केही पनि होइन। त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौंला। आजलाई म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ।”

भैरहवा आउँदा लामिछानेले सुरुमा काठमाडौं–चितवन हवाईमार्ग प्रयोग गर्ने तयारी गरेका थिए, तर खराब मौसमका कारण चितवन पुगेपछि सडकमार्गबाट साँझ पौने ६ बजे भैरहवा कारागार आइपुगेका थिए। भैरहवा कारागार आइपुगेपछि रिहाइ भएपछि रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूले लामिछानेको स्वागत गर्दै हुटिङ र खुशियाली मनाएका थिए।