काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल पुनः पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंको महाराजगञ्ज क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।
धितोपत्रसम्बन्धी ऐन उल्लंघन गरेको आरोपमा अग्रवाललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। यसअघि पनि उनी साउन महिनामा सेयर बजारसँग सम्बन्धित मुद्दामा पक्राउ परेका थिए। सो समयमा प्रारम्भिक अनुसन्धानपछि उनी धरौटीमा छुटेका थिए।
तर पछिल्लो समय सेयर कारोबारसँग जोडिएका नयाँ प्रमाण र तथ्यहरू फेला परेपछि अनुसन्धान पुनः अघि बढाउँदै उनलाई दोस्रो पटक पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ।
सीआईबीका अनुसार अग्रवालमाथि सेयर बजारमा अनुचित र शंकास्पद कारोबार, मूल्य प्रभावित पार्ने गतिविधि तथा बजार हेरफेर (मार्केट म्यानिपुलेसन) गरेको आशंकामा अनुसन्धान भइरहेको छ।
प्रहरीले आवश्यक बयान लिने र थप अनुसन्धानपछि मुद्दा दायर गर्ने वा अन्य कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।
आर्थिकन्यूज