बुटबल । यातायात व्यवसायीहरूले राज्यबाट सहजिकरण र सहयोगको आवश्यकता औंल्याएका छन्। शुक्रबार पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशनमा बोल्ने वक्ताहरूले यातायात क्षेत्रलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन सरकारी पहल अपरिहार्य रहेको बताएका हुन्।
कार्यक्रममा नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सडक पूर्वाधार निर्माण गर्दा व्यवसायीमैत्री ढंगले योजना बनाउनुपर्नेमा जोड दिए। उनले गाडी पार्किङको उचित व्यवस्था नहुँदा व्यवसायीहरू समस्यामा परेको उल्लेख गर्दै ठाउँ–ठाउँमा सुरक्षित पार्किङस्थल निर्माण गर्न राज्यलाई आग्रह गरे।
त्यसैगरी समितिका अध्यक्ष टिकाराम गौतमले विदेशी, विशेषगरी भारतीय सवारी साधनले नेपालमा सामान ओसारपसार गर्दा नेपाली व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएको बताए। उनले यस्तो असमान प्रतिस्पर्धाका कारण धेरै व्यवसायी ऋण तिर्न नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले यातायात क्षेत्रको विकासका लागि स्थानीय तहबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गरे। उनले व्यवस्थित यातायात प्रणालीले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने धारणा राखे।
नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टङ्क गैरे, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेल्बासे तथा समितिका पूर्व अध्यक्ष अर्जुन रानाभाट लगायतले पनि मन्तव्य राख्दै यातायात क्षेत्रको सुधार र संरक्षणका लागि राज्यले दीर्घकालीन नीति ल्याउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा व्यवसायीहरूले नीतिगत सुधार, पूर्वाधार विकास तथा स्वदेशी व्यवसायी संरक्षणका विषयमा एकमत व्यक्त गरेका थिए। उनीहरूले सरकारसँग समन्वय र सहकार्यमार्फत यातायात क्षेत्रलाई सुदृढ बनाउने प्रतिबद्धता समेत जनाएका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया