शीर्षकहरू

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने म्याद थप, स्थानीयका लागि २८.५० लाख कित्ता

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने म्याद थप, स्थानीयका लागि २८.५० लाख कित्ता

काठमाडौं। सानिगाड हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। यसअघि चैत ८ गतेदेखि खुला गरिएको आईपीओमा अब २०८३ वैशाख ७ गतेसम्म आवेदन दिन सकिने भएको कम्पनीले जनाएको छ।

कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ करोड ५० लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोहीमध्ये २८ करोड ५० लाख रुपैयाँ बराबरको २८ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको हो।

निष्कासित शेयरमध्ये १८ लाख ५२ हजार ५०० कित्ता अति प्रभावित क्षेत्रअन्तर्गत सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला, बुंगल नगरपालिका वडा नं. १, २ र ४ का बासिन्दालाई बाँडफाँट गरिनेछ। बाँकी ९ लाख ९७ हजार ५०० कित्ता सोही नगरपालिकाका वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दालाई वितरण गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले लक्ष्मी सनराइज बैंकको चैनपुर शाखासहित ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक का बझाङ शाखाबाट आवेदन दिन सक्नेछन्।

यसका साथै आयोजनास्थलस्थित पावर हाउस, बिराबगर र बुंगलबाट पनि आवेदन फाराम प्राप्त गरी बुझाउन सकिनेछ। आवेदन फाराम लिन स्थानीय बासिन्दाले २ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

आईपीओ निष्कासनअघि गरिएको रेटिङमा इक्रा नेपाल ले कम्पनीलाई ‘इक्रएनपी–आईआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीले सञ्चालन गरिरहेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको उक्त आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ३ महिना बाँकी छ।

परियोजनामा लगानी फिर्ता हुने साधारण अवधि ८.२५ वर्ष र छुट (डिस्काउन्ट) आधारमा १४.६९ वर्ष रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया