शीर्षकहरू

बुद्धभुमी नेपाल हाइड्रोको ४० करोडको हकप्रद शेयर बिक्रीमा

बुद्धभुमी नेपाल हाइड्रोको ४० करोडको हकप्रद शेयर बिक्रीमा

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ले आज (चैत २२) देखि शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात १:१ अनुपातमा हकप्रद शेयर जारी गरेको हो।

यसअनुसार हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता पाउने गरी कम्पनीले ४० करोड रुपैयाँबराबरको ४० लाख कित्ता शेयर निष्कासन गरेको छ। प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

को-कोले पाउँछन् हकप्रद ?

हकप्रद प्रयोजनका लागि कम्पनीले फागुन १ गते बुकक्लोज गरेको थियो। माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्रै यसमा आवेदन दिन पाउनेछन्। आवेदन दिने अन्तिम मिति २०८३ वैशाख १३ गते तोकिएको छ।

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको पानीपोखरी, महाराजगञ्जस्थित कार्यालय र नुवाकोटको थप्रेकस्थित आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, एनआईसी एशिया बैंक का विभिन्न शाखा—विराटनगर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत—मार्फत पनि आवेदन दिन सकिनेछ।

यसका अतिरिक्त, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड को ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन पनि दिन सकिनेछ।

रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘आईआरएन डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ, हकप्रद निष्कासनपछि यो ८० करोड रुपैयाँ पुग्नेछ।

हकप्रदबाट संकलित रकम कम्पनीले लिएको ऋण आंशिक भुक्तानी गर्न प्रयोग गर्ने जनाएको छ। कम्पनीको सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंक मा गरी कुल ९६ करोड ९० लाख रुपैयाँभन्दा बढी ऋण बाँकी रहेको छ।

हकप्रदबाट प्राप्त रकममार्फत ऋण भुक्तानी गरेपछि बाँकी ऋण घटेर करिब ५६ करोड ९० लाख रुपैयाँमा सीमित हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया