शीर्षकहरू

आइतबार शेयर बजार बन्द, शुक्रबार खोल्ने विषयमा छलफल हुने

आइतबार शेयर बजार बन्द, शुक्रबार खोल्ने विषयमा छलफल हुने

काठमाडौं । सरकारले शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पनि कारोबार प्रभावित हुने भएको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सरकारी कार्यालय बिदा हुने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।

नेप्सेका एक उच्च अधिकारीले भने, “सरकारले आइतबार विदा दिएपछि बजार बन्द हुनेछ, तर शुक्रबार बजार खोल्ने विषयमा सञ्चालक समितिमा छलफल हुनेछ। विगतमा पनि यस्तै परिस्थितिमा शुक्रबार कारोबार हुँदै आइतबार बन्द गरिएको उदाहरण छ।”

यसअघि पनि २०७९ जेठदेखि सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा घोषणा गर्दा नेप्सेले शुक्रबार पनि बजार सञ्चालन गरेको थियो। त्यसबेला बजार सातामा पाँच दिन खुल्थ्यो। तर, तत्कालीन निर्णय केही सातामै फिर्ता गरिएको थियो।

हालसम्म शुक्रवार र शनिवार बजार बन्द रहेको छ। नयाँ निर्णय लागू भएपछि यदि शुक्रबार पनि बन्द रह्यो भने, अब नेप्से सातामा चार दिन मात्रै सञ्चालन हुने सम्भावना रहेको छ। यद्यपि, यसबारे अन्तिम निर्णय नेप्से सञ्चालक समितिले गर्नेछ।

अहिले कारोबार आइतबारदेखि बिहीबारसम्म खुल्ने अभ्यास छ। नयाँ सार्वजनिक बिदा लागू भएपछि आगामी दिनमा कारोबार अवधि र सञ्चालनको ढाँचा कस्तो हुने भन्ने अन्योल रहेको छ। नेप्सेका अधिकारीका अनुसार आवश्यक परे कारोबार अवधि बढाउने वा अन्य समायोजन गर्ने विषयमा पनि सञ्चालक समितिको निर्णयमा भर पर्ने नेप्सेका अधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया