काठमाडौं। याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज (चैत २३) अन्तिम दिन रहेको छ।
कम्पनीले प्रारम्भिक रूपमा वैशाख ७ गतेसम्म समय थप गरे पनि मागभन्दा बढी आवेदन परेपछि निष्कासन समयअघि नै बन्द गर्न लागेको जनाएको छ।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ करोड रुपैयाँको २८ लाख कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता साधारण शेयर स्थानीय बासिन्दाका लागि छुट्याइएको हो।
उक्त आईपीओका लागि सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
आवेदनका लागि न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म सीमा तोकिएको छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। स्थानीयले सिन्धु विकास बैंक र कुमारी बैंक का जुगल गाउँपालिका शाखा तथा सिन्धु विकास बैंकको चौतारा शाखाबाट आवेदन दिन सक्नेछन्।
यसका साथै आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ। आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क लाग्नेछ।
रेटिङअनुसार केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा मध्यम जोखिम देखाउँछ।
कम्पनीले निर्माण गरिरहेको ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत् आयोजनाको कुल लागत १ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी अनुमान गरिएको छ। प्रतिमेगावाट लागत करिब २५ करोड ७३ लाख रुपैयाँ रहेको छ।
आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ६ महिना बाँकी छ। लगानी फिर्ता हुने साधारण अवधि १०.७६ वर्ष र छुट दरमा १९.८७ वर्ष रहेको कम्पनीले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया