काठमाडौं। नेपाल स्टक ब्रोकर एसोसिएसनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पुँजीबजार सुधार कार्यदलका बाँकी सुझाव तुरुन्त कार्यान्वयन गर्न माग गरेको छ। सोमबार अर्थ मन्त्रालयमा भएको भेटघाटमा स्टक ब्रोकरहरूले बजार सुधारका लागि ६ बुँदे सुझाव पेश गरेका हुन्।
एसोसिएसनले माग गरेका मुख्य बुँदाहरूमा बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजीबजारमा सहज प्रवेश र निकासीको व्यवस्था, गैर-आवासीय नेपाली नागरिकले दोस्रो बजारमा सजिलै सेयर कारोबार गर्न पाउने व्यवस्था, र पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा स्पष्ट गर्ने समावेश छन्।
त्यस्तै, सरकारी संस्थानका विभिन्न कोषमा रहेको रकमलाई दोस्रो बजारमा लगानी गर्न सहज वातावरण बनाउने र धितोपत्र हस्तान्तरणमा देखिएका समस्या समाधान गर्न आवश्यक निर्देशन दिन पनि माग गरिएको छ। ब्रोकरहरूले अक्सन मार्केटको यथाशिघ्र सञ्चालन र सेटलमेन्ट ग्यारेन्टी फन्डको कार्यविधि कार्यान्वयनमा ल्याउन पनि जोड दिएका छन्।
एसोसिएसनका अनुसार यी मागहरूको कार्यान्वयनले बजारमा साना लगानीकर्ताको मनोबल बढाउने र पुँजीबजारलाई थप पारदर्शी बनाउनेछ।

आर्थिकन्यूज
प्रतिक्रिया