शीर्षकहरू

काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधारको संकेत : कारबाही घट्दै, अनुशासन बढ्दै

चालक र यात्रु अनुशासित नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती

काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधारको संकेत : कारबाही घट्दै, अनुशासन बढ्दै

काठमाडौं। राजधानी काठमाडौंमा ट्राफिक व्यवस्थापन सुधार गर्ने प्रयासहरू तीव्र बन्दै गएका छन्। बढ्दो सवारी चाप, साँघुरा सडक र नागरिकको कमजोर ट्राफिक अनुशासनबीच पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधि, जनचेतना र कडाइको संयोजनमार्फत केही हदसम्म सुधार भएको देखाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीका अनुसार विगतको तुलनामा अहिले ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार देखिएको छ । उनले ट्राफिक प्रहरीलाई थप अनुशिक्षण, जनचेतनामूलक कार्यक्रम र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

साथै उनले ट्राफिक सप्ताह जस्ता कार्यक्रमहरू सञ्चालन गरिँदै आएको बताए । जसले आम नागरिक तथा सडक प्रयोगकर्तामा ट्राफिक नियमप्रति सचेतना बढाएको छ।

विद्यालय–केन्द्रित कार्यक्रम, चालक तथा मजदुर शिक्षा, समुदायस्तरमा गरिने ट्राफिक अवेयरनेस कार्यक्रमहरूले पनि सकारात्मक प्रभाव पारिरहेको उनले बताए।

शून्य सहनशीलताको नीति

ट्राफिक नियम उल्लंघनका मामिलामा प्रहरीले ‘शून्य सहनशीलता’ नीति अवलम्बन गरेको छ । लेन अनुशासन तोड्ने, ट्राफिक लाइट उल्लंघन गर्ने, ओभरस्पिड गर्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने (मापसे) तथा ड्रग्स सेवन गरेर ड्राइभ गर्नेहरूलाई कडाइका साथ कारबाही गरिँदै आएको छ।

अधिकारीका अनुसार ट्राफिक प्रहरी कर्मचारीहरू निरन्तर सडकमा खटिएका छन् र ‘रोडमै उपस्थित भएर नियम कार्यान्वयन’ गर्ने रणनीति अपनाइएको छ । यसले सडक अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

प्रविधिको प्रयोगमा वृद्धि

आधुनिक प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ । अहिले एएनपीआर (अटोमेटिक नम्बर प्लेट रिगनाइजेशन)क्यामेरा प्रयोग गरी सवारी साधनको नम्बर प्लेट स्वतः पहिचान गरेर कारबाही गर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, सीसीटिभी क्यामेराबाट कन्ट्रोल रुममै बसेर ट्राफिक उल्लंघन निगरानी गर्ने, राडार गनमार्फत स्पिड जाँच गर्ने, तथा ब्रेथलाइजर मेसिनबाट मापसे परीक्षण गर्ने कार्यलाई थप कडाइका साथ लागू गरिएको छ । ट्राफिक प्रहरीले प्रविधिको प्रयोगबाट ‘अनस्पट कारबाही’ प्रणालीलाई समेत प्रभावकारी बनाएको जनाएको छ।

कारबाही घट्नु सकारात्मक संकेत

अधिकारीका अनुसार पछिल्लो समय ट्राफिक कारबाहीको संख्या घट्दो क्रममा रहेको छ । तर उनले यसलाई कमजोरी नभई सकारात्मक संकेतका रूपमा व्याख्या गरे।

उनले भने,‘सवारी साधनको संख्या बढी छ, सडक साँघुरो छ, सबैलाई पहिले पुग्नु छ । ‘राइट अफ वे’ के हो, कतिबेला आफ्नो वे हो भन्ने कुरा होइन कि सबैलाई छिटो पुग्ने हतारोले गर्दा केही चालकहरु कारबाहीमा पर्ने, अनावश्यक पिक एण्ड ड्रपहरु गर्ने गर्छन ।

तथापी, पहिलेको तुलनामा कारबाहीको रेसियो थोरै कम भएको छ । हाम्रो लक्ष्य जरिवाना उठाउनु होइन, सडक अनुशासन कायम गर्नु हो । भने, कारबाही घट्नुको अर्थ नियम उल्लंघन पनि घट्दै गएको हो ।’

तर गम्भीर र बारम्बार नियम उल्लंघन गर्ने चालकका हकमा भने कडा कदम चालिँदै आएको छ । पटक–पटक उल्लंघन गर्ने चालकको लाइसेन्स खारेजका लागि सिफारिस गर्ने नीति पनि लागू गरिएको छ ।

‘ज्यान नै जोखिममा हुनेगरी अर्काको पनि जोखिममा हुने आफ्नो पनि जोखिममा हुनेगरी चलाउने र पटक–पटक कारबाहीमा परेका व्यक्तिहरुको लाइसेन्स नै खारेजको लागि सिफारिस समेत गरेर पठाउछौं । अवस्था हेरेर १० पटक कट्यो भने खारेज नै हामी गर्छौं,’ उनले भने ।

पूर्वाधार सुधारमा ध्यान

उनको अनुसार ट्राफिक व्यवस्थापनलाई सुधार गर्न पूर्वाधार विकासमा पनि ध्यान दिइएको छ । ट्राफिक लाइट सञ्चालन संख्या ४२ बाट बढाएर ५३ पु¥याइएको छ । यसका साथै सडकमा ‘किप क्लियर’ क्षेत्र, स्टप लाइन, रोड मार्किङ तथा लेन व्यवस्थापनलाई थप व्यवस्थित बनाउने काम भइरहेको छ ।

महानगरपालिकासँग सहकार्य गरेर पिक एण्ड ड्रप स्टेशनहरू व्यवस्थापन गर्ने र यातायात व्यवस्था विभागसँग समन्वय गर्दै सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

उनले भने,‘अहिले ट्राफिक लाइट व्यवस्थापनमा ध्यान दिएका छौं । जेनजी आन्दोलन भन्दा अगाडि ७४ मध्ये ४२ वटा लाइट चल्थ्यो भने अहिले ५३ वटा अपरेसनमा ल्याइसकेका छौं । विभिन्न ठाउँमा किप क्लियर बनाउने अनि रोड मार्किंगहरुलाई बढाउँदै लगेका छौं । स्टप लाइनहरुलाई व्यवस्थित गरेका छौं । महानगरपालिका, यातायात व्यवस्था विभागसँग समन्वय गरेर धेरै काम गरेका छौं । विदेशी ट्राफिक विज्ञहरु समेत बोलाएर वर्कसप गरेका छौं ।’

एकीकृत बसपार्क प्रणाली लागू गर्ने योजना पनि अगाडि बढाइएको छ । यसले जथाभावी पार्किङ र टिकट काउन्टर राख्ने प्रवृत्ति अन्त्य गर्दै ट्राफिक जाम घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चुनौतीहरू यथावत

यद्यपि, सुधारका प्रयासबीच पनि चुनौतीहरू भने अझै जटिल छन्। काठमाडौंमा सवारी साधनको संख्या तीव्र गतिमा बढिरहेको छ भने सडक संरचना त्यही अनुपातमा विस्तार हुन सकेको छैन।

विशेषगरी दुईपाङ्ग्रे सवारी साधनको अनियन्त्रित वृद्धि ट्राफिक व्यवस्थापनका लागि ठूलो चुनौती बनेको उनी सुनाउँछन् । उनको अनुसार ट्राफिक नियम उल्लंघनमा पनि दुईपाङ्ग्रे चालक नै बढी देखिएका छन्। दुर्घटनाको जोखिम पनि यही वर्गमा उच्च रहेको अधिकारीको भनाइ छ।

सार्वजनिक सवारी साधनको लापरवाहीपूर्ण सञ्चालन, अव्यवस्थित पार्किङ र अनावश्यक पिक एण्ड ड्रपले पनि ट्राफिक जाम बढाउने प्रमुख कारणका रूपमा देखिएको छ।

नागरिकको व्यवहार मुख्य समस्या

ट्राफिक व्यवस्थापनमा नागरिकको व्यवहार पनि महत्वपूर्ण पक्ष रहेको अधिकारीले बताए। उनले आकासे पुल हुँदाहुँदै सडकबाटै बाटो काट्ने, जेब्रा क्रसिङको बेवास्ता गर्ने, ट्राफिक लाइट उल्लंघन गर्ने र हेल्मेट नलगाउने प्रवृत्तिलाई गम्भीर समस्या भएको बताए।

मोडिफाइड बाइक चलाएर ध्वनि प्रदूषण गर्ने तथा नियम उल्लंघनलाई ‘उपलब्धि’ जस्तो ठान्ने प्रवृत्ति समाजमा बढ्दै गएको भन्दै उनले यसलाई ‘सडक संस्कारविरुद्धको गतिविधि’ बताएका छन्।

बाइक चोरी पनि चिन्ताको विषय

काठमाडौं उपत्यकामा दुई पाङ्ग्रे सवारी साधन(मोटरसाइकल÷स्कूटर) चोरीका घटनाहरू पनि चुनौतीका रूपमा रहेका छन्। प्रहरी तथ्यांकअनुसार भदौदेखि चैतसम्म १७३६ वटा चोरी भएका छन्। तीमध्ये करिब ४०० भन्दा बढी फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ ।

चोरी रोक्नका लागि प्रहरीले जीपीएस ट्र्याकिङ सिस्टम जडान गर्न, अतिरिक्त लक प्रयोग गर्न र सुरक्षित पार्किङ गर्न नागरिकलाई सुझाव दिएको छ।

समन्वय र प्रतिबद्धता

ट्राफिक व्यवस्थापन सुधारका लागि विभिन्न निकायबीच समन्वय आवश्यक रहेको अधिकारीले बताए। उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर तथा अन्य सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाइँदै आएको उनले बताए।

उनका अनुसार अन्तर्राष्ट्रिय ट्राफिक विज्ञहरूको सहभागितामा कार्यशाला आयोजना गरी नयाँ उपायहरूबारे छलफल गरिएको छ र प्राप्त सुझावहरू कार्यान्वयनको चरणमा रहेका छन्।

ट्राफिक व्यवस्थापन सुधारका प्रयासहरूले सकारात्मक संकेत देखाउन थालेका छन्। प्रविधिको प्रयोग, कडाइका साथ नियम कार्यान्वयन र जनचेतना अभियानले ट्राफिक अनुशासनमा सुधार ल्याएको छ ।

तर दीर्घकालीन समाधानका लागि नागरिकको व्यवहारमा परिवर्तन, पूर्वाधार विस्तार र प्रभावकारी नीति कार्यान्वयन अपरिहार्य देखिन्छ।

ट्राफिक प्रहरीको प्रयाससँगै नागरिकको जिम्मेवारीपूर्ण सहभागिता भए मात्र राजधानीको ट्राफिक समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्ने देखिन्छ।

प्रतिक्रिया