काठमाडौं । अब बीमा कम्पनीहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् । सरकारको निर्णय अनुसार नै बीमा कम्पनीहरू पनि साताको दुई दिन बन्द हुने नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले शैक्षिक संस्था र सरकारी निकायहरू साताको दुई दिन शनिबार र आइतबार बन्द गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय अनुसार बीमा कम्पनीहरूलाई पनि दुई दिन बिदा गर्न परिपत्र जारी गर्ने तयारी भएको प्राधिकरणकी प्रवक्ता पुजन ढुङ्गेलले बताइन् ।
उनका अनुसार सोमबारदेखि बिहीबारसम्म बीमा कम्पनीहरू बिहान ९ बजेदेखि ५ बजेसम्म र शुक्रबार ९ बजेदेखि ४ बजेसम्म खुला रहन्छन् । सोही अनुसार प्राधिकरणले परिपत्र गर्न लागेको पनि उनले बताइन् ।
मन्त्रिपरिषदको उक्त निर्णय अनुसार बैंक तथा वित्तीय संस्था पनि साताको दुई दिन बन्द रहने राष्ट्र बैंकले जनाएको छ । सोही अनुसार राष्ट्र बैंक परिपत्र पनि जारी गरेको थियो ।
आर्थिकन्यूज
प्रतिक्रिया