काठमाडौं। नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग भएको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार र निजी क्षेत्रसँग सम्बन्धित सरकारको दृष्टिकोण स्पष्ट पारेका छन्। उनले लगानीकर्तालाई आश्वस्त पार्दै बजार सुधारका लागि सरकार सक्रिय रहेको जानकारी दिएका छन्।
अर्थमन्त्री वाग्लेले सेयर बजारमा हाल फैलिएको त्रास र अफवाहबारे ध्यानाकर्षण गराउँदै भने, “सरकारले साना लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य राखेको छैन। बजारमा आतंकित बनाउने काम भइरहेको छ, जुन उचित होइन। कुनै धरपकड अभियान चलेको छैन। यदि कसैले इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन वा अन्य अनैतिक काम गरेको छ भने त्यसमा विद्यमान कानुन अनुसार मात्र कारबाही हुन्छ।”
उनले सेयर बजारको संरचना र विश्वासिलोपनामा पनि जोड दिएका छन्। उनका अनुसार, “नेपालको सेयर बजार अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी छ। पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा, कर प्रणाली स्पष्ट, र कसले किन्यो/बेच्यो ट्र्याक गर्न सकिने भएकाले यो प्रणाली विश्वसनीय छ। सरकारले स्टक मार्केटलाई डिजिटलाइजेसनको नमूना क्षेत्रको रूपमा लिएको छ। प्रधानमन्त्रीले अन्य क्षेत्रमा पनि यस जस्तो डिजिटल प्रणाली लागू गर्न चाहनु भएको छ।”
मन्त्री वाग्लेले आगामी दिनमा पुँजी बजार सुधारका लागि पहल भइरहेको जानकारी दिएका छन्। “नेप्से पुनर्संरचना प्रतिवेदन अध्ययन गरेर सुधार अघि बढाइने छ। राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रका बुँदा ३३ र ३४ कार्यान्वयन गर्दै लगानीकर्तालाई बजारप्रति उदार नीति सुनिश्चित गर्ने प्रयास भइरहेछ। अहिले बजार घटेको अवस्थामा प्यानिक हुनु आवश्यक छैन, सुनौलो दिन आउँदैछ।” उनले थपे।
अर्थमन्त्रीले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाबारे पनि धारणा राखे। उनका अनुसार, “सम्पत्ति शुद्धीकरण लगायतका वित्तीय अपराधमा वर्षौंदेखि भएका अनुसन्धान अकाट्य प्रमाणमा आधारित छन्। हाम्रो लक्ष्य ह्वाइट–कल क्राइमलाई आर्थिक जरिवानासहित कारबाही गर्नु हो। कुनै संस्था वा व्यक्ति छानेर दुख दिने नियत छैन। न्याय निरूपण अदालतबाट हुने हो। अपराधीबाट कसैलाई छुट दिइँदैन, तर निजी क्षेत्रमाथि धरपकड गर्ने नीति छैन।”
उनले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नुलाई सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पारे। “ग्रे लिस्टले अन्तर्राष्ट्रिय स्तरमा बदनामी मात्रै होइन, लगानीको वातावरणमा नकारात्मक असर पनि पार्छ। यसलाई हटाउने काम लागू चरणमा प्रवेश गरिसकिएको छ। यसबारे कागजमा मात्रै नभई व्यवहारमा पनि कदम चाल्दैछौं।”
अर्थमन्त्रीले सेयर बजार सुधार, लगानीकर्ता सुरक्षा, निजी क्षेत्रको सहयोग र वित्तीय अनुशासनमा सरकारको स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन्। उनका भनाइअनुसार, हालको बजार अस्थिरता अस्थायी छ र सरकारको दृष्टिकोण उदार र सुधारमुखी रहेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया