शीर्षकहरू

गण्डकी प्रदेशका लेखा अधिकृतविरुद्ध ६ करोडको भ्रष्टाचार मुद्दा

गण्डकी प्रदेशका लेखा अधिकृतविरुद्ध ६ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेल विरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार पौडेलले गैरकानुनी रूपमा कुल ६ करोड २६ लाख ९३ हजार १ सय २९ रुपैयाँ ८२ पैसा बराबरको सम्पत्ति आर्जन गरेका छन्। सोही आधारमा विशेष अदालतमा आरोपपत्र दायर गरिएकाे हाे।

अनुसन्धान क्रममा पौडेलले आफ्नो गैरकानुनी आम्दानीलाई वैध देखाउन नक्कली ऋण सापटीको कागजात तयार गरी विभिन्न व्यक्तिहरूसँगको लेनदेन देखाएको खुलेको छ। उनले कुनै वास्तविक ऋण नलिई ऋण लिएको देखाउने र सोही आधारमा रकम फिर्ता गरेको भनी बैंक तथा वित्तीय संस्थामार्फत जटिल कारोबार (वेब अफ ट्रान्ज्याक्सन) सञ्चालन गरी सम्पत्तिको स्रोत, प्रकृति र स्वामित्व लुकाउने प्रयास गरेको अख्तियारको निष्कर्ष छ।

अख्तियारले पौडेलले गैरकानुनी रूपमा आर्जन गरेको मध्ये २ करोड ५१ लाख ३४ हजार ४६२ रुपैयाँ १४ पैसा र त्यसमा जोडिएको ब्याज ७ लाख ३२ हजार ८६२ रुपैयाँ ३९ पैसा समेत गरी कुल २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ ५३ पैसा बराबरको रकम सम्पत्ति शुद्धीकरण गरेको ठहर गरेको छ। उक्त रकम बराबरको बिगो कायम गरी कैद र जरिवाना सजाय माग गरिएको छ।

साथै, पौडेलको खातामा रहेको १ करोड ७० लाख १३ हजार ५० रुपैयाँ ७७ पैसा जफत गर्न समेत माग गरिएको छ। उनी राष्ट्रसेवक कर्मचारी भएकाले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार थप सजायको माग पनि गरिएको अख्तियारले जनाएको छ।

यस प्रकरणमा पौडेलकी श्रीमती हुमा कुमारी उपाध्याय सहित जमुना कुमारी रोका क्षेत्री, हरीप्रसाद पौडेल र शान्ति दराई पौडेललाई समेत मतियारका रूपमा प्रतिवादी बनाइएको छ। उनीहरूले गैरकानुनी सम्पत्तिको स्रोत लुकाउन सहयोग गरेको आरोप लगाउँदै उनीहरू विरुद्ध पनि बिगो कायम गरी मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय माग गरिएको छ।

प्रतिक्रिया