काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीकर्ता हितमा नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाएपश्चात शेयर बजारमा सुधार देखिएको छ । सोमबार विहान स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री वाग्लेले सरकार बजार प्रवद्र्धनमा सक्रिय रहने र लगानीकर्ताको मनोबल घटाउने खालका कुनै कार्यक्रम नआउने स्पष्ट पारेका थिए ।
साथै उनले कुनै लगानीकर्ता वा ब्रोकरमाथि प्रतिशोध नलाग्ने, व्यवसायीलाई थुन्नु भन्दा सुन्ने नीति अपनाइने र विगतमा तयार पारिएका सुझावहरू कार्यान्वयन गर्ने आश्वासन दिएका थिए । अर्थमन्त्री वाग्लेले लगानीकर्ताको मनोबल उच्च राख्दै पुँजी बजार सुधारमा सरकारको सक्रिय भूमिका रहने आश्वासन दिएसँगै शेयर बजारका लगानीकर्ताको मनोबल फर्किदा त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ ।
फलस्वरुप लगातार ओरालो लागेको शेयर बजार सोमबार भने सम्हालिँदै उकालो लागेको छ। सोमबार नेप्से ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा पुगेको छ, जुन ३.११ प्रतिशतको वृद्धि हो।
कारोबार रकम पनि उच्च देखिएको छ। सोमबार १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ बराबरको २ करोड ५१ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका कम्पनीमध्ये २६४ वटाको शेयर मूल्य बढ्दा ३ वटाको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ।
यसअघि ६ कारोबार दिनमै नेप्से करिब २७४ अंकले घटेर २६७६ विन्दुसम्म झरेको थियो। आइतबार मात्रै पनि नेप्से १०५ अंकले घटेको थियो। तर सोमबारको सुधारले बजारमा केही राहतको संकेत देखिएको छ।
यस दिन सबै १३ उपसमूहका सूचक बढेका छन्। जलविद्युत उपसमूह सर्वाधिक ४.५९ प्रतिशतले बढ्दा वित्त, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन र लगानी समूहमा पनि उल्लेख्य वृद्धि देखिएको छ।
कारोबारमा अधिकांश कम्पनीको मूल्य बढेको छ। ८ कम्पनीको शेयर सकारात्मक सर्किटमा पुगेका छन् भने घटेका कम्पनीहरूको गिरावट ४ प्रतिशतभित्र सीमित रहेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहँदा हिमालयन रि–इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर पनि उच्च कारोबार हुने कम्पनीमा परेका छन्।
पछिल्ला दिनहरुमा लगातार गिरावट आएको बजार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आश्वासनपछि सकारात्मक बनेको विश्लेषण गरिएको छ। उनले साना लगानीकर्तालाई लक्षित गरेर बजारमा अनावश्यक त्रास फैलाइएको भन्दै त्यसको पछि नलाग्न आग्रह गरेका थिए। साथै, सरकार निजी क्षेत्रमैत्री रहेको र पुँजी बजार सुधारका विषयलाई प्राथमिकतामा राखिएको उनले स्पष्ट पारेका थिए।
सोमबार बिहान अर्थमन्त्रीसँग भएको भेटमा ब्रोकरहरूले पछिल्ला दिनमा बजारमा फैलिएका गलत अफवाह र साना लगानीकर्तामा परेको प्रभावबारे जानकारी गराएका थिए । उनीहरुले साना लगानीकर्ताले आत्तिन नपर्ने, संस्थागत लगानीकर्ताका लागि बजारमा सहजता सुनिश्चित गर्न आवश्यक भएको र निजी क्षेत्रमाथिको अनुसन्धान गोप्य राखिनुपर्ने आग्रह गरेका थिए ।
भेटपछि अर्थमन्त्री वाग्लेले भने, “नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनु छ। त्यसका लागि सुशासन आवश्यक छ। अपराधीलाई छूट छैन तर छानीछानी प्रतिशोध हुँदैन। सरकार निजी क्षेत्रमैत्री छ। बजेट २०८३ ऐतिहासिक र रूपान्तरणकारी आउँदैछ।”
उनले थपे, “नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आउँदैछ। हल्ला र अफवाहको पछि नलागौँ। हामी शेयर बजारमा सबैभन्दा उदार पार्टी हौँ र घोषणापत्रमै स्पष्ट धारणा राख्छौँ।”
त्यस्तै, ब्रोकरहरुले बैंक तथा वित्तीय संस्थालाई सहज रूपमा पुँजी बजारमा प्रवेश र बाहिरिन सक्ने व्यवस्था लागू गर्न, सेयर खरिद गरेको ६ महिनापछि मात्रै बिक्री गर्न पाइने प्रावधान संशोधन गर्न र गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहज रूपमा सेयर कारोबार गर्न दिनुपर्ने माग गरेका छन्।
विश्लेषकहरुका अनुसार हालको सुधार आंशिक भए पनि लगानीकर्ताको मनोबलमा सकारात्मक प्रभाव पारेको छ। आगामी दिनमा बजारको दिशा सरकारको नीतिगत स्पष्टता, नियामकीय कदम र लगानीकर्ताको मनोविज्ञानमा निर्भर रहने देखिन्छ।
आर्थिकन्यूज
प्रतिक्रिया