शीर्षकहरू

पर्यटनमा ‘रिफर्म’ आवश्यक, सरकार फेरिएसँगै शैली फेरिनुपर्छ : पर्यटन मन्त्री पौडेल

पर्यटनमा ‘रिफर्म’ आवश्यक, सरकार फेरिएसँगै शैली फेरिनुपर्छ : पर्यटन मन्त्री पौडेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले सरकार परिवर्तनसँगै कार्यशैली पनि रूपान्तरण गर्नुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्डमा मन्त्री पौडेललाई गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धि, नवप्रवर्द्धन र दिगो योजनामार्फत नेपाललाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने सबैको प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

मन्त्री पौडेलले नेपालको विकासका लागि पर्यटनलाई प्रमुख आधार भएको उल्लेख गर्दै भने, “अहिले सरकार फेरिएको छ, अब शैली पनि फेरिनुपर्छ । पर्यटन प्रवर्द्धनका परम्परागत स्वरुप र अभ्यासहरुबाट बाहिर निस्केर नवप्रवर्द्धनयुक्त अभियान सञ्चालन गर्नुपर्ने छ । त्यसका लागि आवश्यक नीतिगत सहयोग गर्न म तयार छु । यसका लागि पर्यटन बोर्ड पनि तयार रहनुपर्छ ।”

उनका अनुसार नेपालसामु रहेको अवसर ऐतिहासिक र अन्तिम चरणको जस्तो भएकाले अब परिणाममुखी काम गर्न आवश्यक छ । मन्त्री पौडेलले थपे, “सुरुमा केही कुराहरु असम्भवजस्तो लाग्‍न सक्छन् । तर, परिणाम निकालेर मुलुकको समग्र विकास गर्नुको विकल्प छैन । अहिलेको समाजले परिवर्तन परिणाममा खोजेको छ । त्यसकारण सामाजिक मनोविज्ञान र जनताको भावना बुझेर अघि बढ्नुपर्छ ।”

नीतिगत सहजीकरणका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पार्दै मन्त्री पौडेलले प्रतिशोधको राजनीति नगर्ने र काम गर्नेलाई प्रोत्साहन गर्नेसमेत बताएका छन् । “दोषलाई क्षमा र गुणलाई प्रशंसा गर्छु, तर आवश्यक परे कठोर निर्णय लिन पनि तयार छु,” उनले भने । उनले नेपालजस्तो सुन्दर देश गरिब हुन अभिशप्त हुन नहुने उल्लेख गर्दै दीर्घकालीन योजना निर्माणमा सरकार केन्द्रित हुने बताए ।

मन्त्री पौडेललाई स्वागत गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको समग्र संरचना, कार्यक्रम र नीतिगत दिशाबारे प्रस्तुति दिए । पर्यटन बोर्डले सार्वजनिक–निजी साझेदारी मोडेलमार्फत अन्तर्राष्ट्रिय बजारमा नेपाललाई सशक्त रूपमा प्रवर्द्धन गर्ने रणनीति अघि सारिएको पनि सीईओ जोशीले जानकारी गराएका छन् । उनले भने, “सरकार र निजी क्षेत्रबीचको समन्वयलाई थप मजबुत बनाउँदै पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउने कार्यक्रम र योजना अनुसार अघि बढिरहेका छौं ।”

स्वागत कार्यक्रमम सीईओ जोशीले पर्यटन क्षेत्रका विभिन्न चुनौती र सुधारका एजेन्डाहरूबारे पनि मन्त्री पौडेललाई ब्रिफिङ गरेका हुन् । विशेषगरी ट्रेकिङ इन्फर्मेशन म्यानेजमेन्ट सिस्टम (टीआईएमएस) को प्रभावकारी कार्यान्वयन, निजी क्षेत्रसँग सहकार्य विस्तार, नेपाल पर्यटन बोर्डमा संरचनात्मक सुधार, कार्यालय सुदृढीकरण तथा विस्तार, कर्मचारी र वित्तीय विनियमावली संशोधन जस्ता विषयलाई प्राथमिकतामा राखिएको पनि सीईओ जोशीले जानकारी गराएका छन् । त्यसैगरी मध्यपूर्व क्षेत्रमा विकसित संकटका बीच पर्यटन क्षेत्रलाई कसरी सुरक्षित र सन्तुलित रूपमा अघि बढाउने भन्ने विषयमा पनि छलफल भइरहेको सीईओ जोशीले जानकारी दिए ।

प्रतिक्रिया