शीर्षकहरू

अटोमोबाइल क्षेत्र सुधारमा अर्थमन्त्री–नाडा छलफल, कर घटाएर राजस्व वृद्धि गर्ने रणनीतिमा सरकार

अटोमोबाइल क्षेत्र सुधारमा अर्थमन्त्री–नाडा छलफल, कर घटाएर राजस्व वृद्धि गर्ने रणनीतिमा सरकार

काठमाडौं । अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था र सुधारका उपायबारे सरकार र निजी क्षेत्रबीच छलफल भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी नीतिगत सुधार, कर संरचना र उद्योग प्रवर्द्धनका विषयमा धारणा राखेको हो।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको टोलीले अटोमोबाइल क्षेत्रलाई माथि उठाउन नयाँ नीतिगत हस्तक्षेप आवश्यक रहेको बताउँदै यसले राजस्व वृद्धि र रोजगारी सिर्जनामा सहयोग पुग्ने उल्लेख गरे। उनले उद्योग विस्तारका लागि आयातित कच्चा पदार्थमा सहुलियत आवश्यक रहेको र हाल सीकेडी प्रणाली सहज भए पनि स्वदेशी उद्योग सञ्चालनमा कठिनाइ भइरहेको बताए।

छलफलमा अर्थमन्त्री वाग्लेले सरकार राजस्वको दायरा विस्तार गर्ने र आवश्यक परे कर दर घटाएर पनि राजस्व वृद्धि गर्ने रणनीतिमा रहेको बताए। उनले निजी क्षेत्रमैत्री नीति ल्याउने, अनियमितता नियन्त्रण गर्ने र सडक पूर्वाधारमा लगानी बढाउने प्रतिबद्धता जनाए। आगामी बजेटका सन्दर्भमा नाडासँग पुनः छलफल गरिने उनले बताए।

नाडाले अटोमोबाइल क्षेत्रका लागि ३६ बुँदे लिखित सुझावसमेत पेश गरेको छ। छलफलमा उद्योगसँग सम्बन्धित वस्तु—टायर, ट्युब, ब्याट्री, लुब्रिकेन्ट र हेल्मेट—नेपालमै उत्पादन भइरहे पनि गुणस्तर परीक्षण गर्ने पर्याप्त संरचना नभएको समस्या औंल्याइएको थियो।

कार्यक्रममा नाडाका पूर्वअध्यक्ष करण चौधरीले नेपालमा अटोमोबाइल कम्पोनेन्ट उद्योगको ठूलो सम्भावना रहेको बताए भने विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानीमैत्री नीति र विद्युतिय सवारी प्रवर्द्धनका लागि स्पष्ट रणनीति आवश्यक रहेको धारणा राखे। उनले भारतमा जीएसटी घटेपछि बढेको चोरी निकासी नियन्त्रण गर्न सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने पनि बताए।

नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सरकारको विशेष पहल आवश्यक रहेको बताए। छलफलमा नाडाका अन्य पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया