काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। आज मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।
राष्ट्र बैंकमा करिब २५ वर्षको अनुभव हासिल गरेका भट्टले व्यवस्थापन, अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्। साथै उनले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्।
उनले नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान, बैंक सुपरिवेक्षण तथा बैंक तथा वित्तीय संस्था नियमनजस्ता महत्वपूर्ण विभागमा काम गरिसकेका छन्।
तत्कालीन अर्थमन्त्री प्रकाशशरण महत का आर्थिक सल्लाहकारका रूपमा काम गरिसकेका भट्टले नेपाल धितोपत्र बोर्ड को सञ्चालक पदमा समेत जिम्मेवारी सम्हालेका थिए। यसैगरी कर्जा सूचना केन्द्रको अध्यक्षका रूपमा पनि उनले अनुभव बटुलेका छन्।
नेपालको मौद्रिक नीति निर्माण, वित्तीय स्थायित्वको अध्ययन तथा समष्टिगत अर्थतन्त्र विश्लेषणमा दुई दशकभन्दा लामो अनुभव भएका भट्ट अर्थशास्त्रमा विशेष अध्ययन गरेका विशेषज्ञ हुन्। उनी शिक्षाविद्, नीति अनुसन्धानकर्ता तथा प्राविधिक विज्ञका रूपमा परिचित छन्।
भट्टले दर्जनौँ अनुसन्धान लेख र नीति विश्लेषण प्रकाशित गरिसकेका छन्। प्राविधिक दक्षता, संस्थागत निरन्तरता र तथ्यमा आधारित नीतिगत दृष्टिकोणमा विश्वास गर्ने व्यक्तिका रूपमा उनी चिनिन्छन्।
आर्थिकन्यूज
प्रतिक्रिया