शीर्षकहरू

काठमाडौंमा 'दक्षिण एसियाली व्यापार मेला २०२६' आयोजना हुने

आगामी वैशाख २४ देखि २८ गते सम्म भृकुटीमण्डपमा सञ्चालन हुने

काठमाडौंमा 'दक्षिण एसियाली व्यापार मेला २०२६' आयोजना हुने

काठमाडौं । दक्षिण एसियाली क्षेत्रका व्यापार, उद्योग र सेवा क्षेत्रका अवसरहरूलाई एउटै मञ्चमा ल्याउने  ध्येयले   'दक्षिण एसियाली व्यापार मेला २०२६' आयोजना हुने भएको छ।

यो मेला आगामी वैशाख २४ देखि २८ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। इन्ट्रोडक्सन ट्रेड शोज नेपाल प्रा. लि. ले बंगलादेशको उद्योग मन्त्रालय र निर्यात प्रवर्द्धन ब्युरोसँगको सहकार्यमा यसको आयोजना गर्न लागेको हो।

आयोजकले दक्षिण एसियाली क्षेत्रका वस्तु तथा सेवाको प्रचार गरी यस मेलाले   व्यापारिक सम्बन्धलाई बलियो बनाउने अपेक्षा गरेको छ  ।

साझेदार र सहभागी राष्ट्र

यस मेलालाई नेपाल चेम्बर अफ कमर्स लगायत ललितपुर, भक्तपुर र मोरङका उद्योग वाणिज्य संघहरूले सहयोग गरेका छन्। इ-टिकट नेपाल डटकम आधिकारिक अनलाइन साझेदारको रूपमा रहनेछ भने 'विराटबजार' ले व्यवसायिक सम्बन्ध (बिटुबि ) विस्तारमा सहयोग गर्नेछ। मेलामा नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सका व्यवसायीहरूको सहभागिता रहनेछ।

सहभागिता र आकर्षणको प्रक्षेपण

मेला संयोजक सुमन महर्जनका अनुसार प्रदर्शनीमा १५० भन्दा बढी स्टलहरू रहनेछन्। यस अवधिमा करिब १ लाख सर्वसाधारण र ५ हजार हाराहारीमा विदेशी प्रतिनिधि तथा व्यवसायीहरूले मेला अवलोकन गर्ने अनुमान गरिएको छ।

मेलाले विशेषगरी गुणस्तरीय र निर्यातमुखी उत्पादनहरूको प्रचारमा जोड दिनेछ, जसले नेपाली व्यवसायीहरूलाई नयाँ बजार खोज्न मद्दत पुग्ने विश्वास लिइएको छ।

प्रदर्शनीका मुख्य क्षेत्र र थप कार्यक्रम

मेलामा तयारी पोसाक, सौन्दर्य सामग्री, हस्तकला, जुत्ता-चप्पल, अटोमोबाइल, फर्निचर, कृषि तथा प्राङ्गारिक उत्पादन, र सूचना प्रविधि लगायतका सामग्रीहरू प्रदर्शन गरिनेछन्। यसका साथै स्वास्थ्य, खाद्य सामग्री र निर्माण क्षेत्रसँग सम्बन्धित उत्पादनहरू पनि राखिनेछन्।

व्यापारिक प्रदर्शनी बाहेक मेलामा बीटुबी मिटिङ, सेमिनार र सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना हुनेछन्। नेपालमा लगानी र व्यापारका नयाँ सम्भावनाहरूको ढोका  खोल्न यो मेला महत्वपूर्ण हुने आयोजकको ठहर छ। इच्छुक व्यवसायीहरूले स्टल बुकिङ वा प्रायोजनमार्फत यसमा सहभागी हुन सक्नेछन्।

प्रतिक्रिया