काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आज (चैत २६ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।
यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याएको हो।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
जसमध्ये ४ लाख ७० हजार कित्ता स्थानीय बासिन्दा र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट भइसकेको छ। साथै, ३७ हजार कित्ता सामूहिक लगानी कोष र १८ हजार ८०० कित्ता कर्मचारीका लागि छुट्याइएको शेयर पनि वितरण भइसकेको कम्पनीले जनाएको छ।
अब कम्पनीले बाँकी रहेको ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो, जसको कुल रकम ७ करोड ८० लाख २० हजार रुपैयाँ हुन्छ। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा चैत ३० गतेसम्म र ढिलोमा २०८३ वैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै मेरो शेयर प्रयोग गरी अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीले सञ्चालन गरिरहेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजनाको अनुमानित कुल लागत १ अर्ब ३७ करोड २० लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत २२ करोड ८६ लाख रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष तथा छुट दरमा १६.४३ वर्ष रहेको कम्पनीले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया