शीर्षकहरू

निजी क्षेत्रलाई ‘दबाब समूह’ बाट ‘विकास साझेदार’ मा रूपान्तरण गर्‍यौं : ढकाल

निजी क्षेत्रलाई ‘दबाब समूह’ बाट ‘विकास साझेदार’ मा रूपान्तरण गर्‍यौं : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा निजी क्षेत्रलाई केवल दबाब समूहबाट विकासको सहयात्रीका रूपमा स्थापित गर्न सफल भएको बताएका छन्।

पत्रकार तथा सञ्चारकर्मीहरूसँग आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले तीन वर्षको अवधिमा नीतिगत सुधार, लगानी प्रवद्र्धन र सार्वजनिक–निजी साझेदारी सुदृढीकरणमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी गरे।

ढकालले नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र कोभिड–१९ महामारी, अन्तर्राष्ट्रिय द्वन्द्व, उच्च ब्याजदर, तरलता अभाव र नीतिगत अन्योलका कारण कमजोर अवस्थामा रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्न निजी क्षेत्रको मनोबल जोगाउने, लगानीमैत्री वातावरण बनाउने र आर्थिक गतिविधि चलायमान बनाउने प्राथमिकता लिएको बताए।

उनका अनुसार महासंघले नीति निर्माण प्रक्रियामै सक्रिय सहभागिता जनाउँदै सरकार, राजनीतिक दल र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याएर आर्थिक बहसलाई सशक्त बनाएको छ। यसैक्रममा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भई ३० भन्दा बढी कानुन सुधारका सिफारिस गरिएको उनले जानकारी दिए।

निजी क्षेत्रलाई ‘शान्ति क्षेत्र’का रूपमा घोषणा गरिनु र हालै बनेको सरकारको पहिलो क्याबिनेट बैठकबाट निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति स्वीकृत हुनु महासंघको महत्वपूर्ण उपलब्धि भएको उनले बताए।

त्यस्तै, द्विपक्षीय लगानी सम्झौता (बीआईए) को मस्यौदा तयार गरी विभिन्न मुलुकहरूसँग सम्झौता प्रक्रिया अघि बढाइएको र यसले लगानी वातावरण थप सुदृढ हुने विश्वास व्यक्त गरे।

ढकालले राज्य–निजी क्षेत्र सम्बन्धलाई टकरावबाट सहकार्यमा रूपान्तरण गरिएको उल्लेख गर्दै डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन महशुल विवाद समाधानका लागि मध्यस्थता गरिएको बताए।

आन्तरिक तथा बाह्य लगानी प्रवद्र्धनतर्फ १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको तथा भारत, चीन, यूएई, कतार, बेलायतलगायत मुलुकमा लगानी सम्मेलनमार्फत नेपाललाई लगानी गन्तव्यका रूपमा प्रवद्र्धन गरिएको उनले जानकारी दिए।

संस्थागत सुधारतर्फ महासंघको विधान संशोधन गरी नेतृत्व चयन प्रक्रियालाई थप समावेशी, पारदर्शी र प्रतिस्पर्धी बनाइएको तथा महिला सहभागिता र जिल्ला–नगर प्रतिनिधित्व सुदृढ गरिएको उनले बताए।

कार्यक्रममा ढकालले आर्थिक पत्रकारिताले नीतिगत बहसलाई दिशा दिएको उल्लेख गर्दै सञ्चार क्षेत्रको भूमिकालाई उच्च सम्मानका साथ लिने बताए। “पत्रकारिता केवल सूचना प्रवाह होइन, नीति निर्माणको मार्गदर्शक शक्ति हो,” उनले भने।

उनले महासंघ र सञ्चार क्षेत्रबीच सहकार्य अझ सुदृढ गर्दै देशको अर्थतन्त्रलाई गतिशील बनाउने साझा लक्ष्य रहेको समेत उल्लेख गरे।

प्रतिक्रिया