काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार ओलीलाई उपचाररत अवस्थामै अस्पतालबाट परिवारको जिम्मा लगाइएको हो।
प्रहरीले बाँकी निर्णय उनको स्वास्थ्य अवस्थाका आधारमा चिकित्सकको सल्लाहअनुसार हुने जनाएको छ। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा उनलाई चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। पक्राउपछि जटिल स्वास्थ्य समस्याका कारण उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए।
यसबीच ओलीकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गराएकी थिइन्।
सर्वोच्च अदालतले चैत २३ गते बेलुका आदेश जारी गर्दै ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान चैत २६ भित्र टुंग्याउन निर्देशन दिएको थियो।
साथै तोकिएको अवधिमा अनुसन्धान नसकिए शर्तसहित रिहा गर्न पनि अदालतले आदेश दिएको थियो। सोही आदेशअनुसार प्रहरीले ओलीलाई नियन्त्रणमुक्त गरेको हो।
ओली रिहा भएपछि उनलाई लिन पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन्।
आर्थिकन्यूज
प्रतिक्रिया