शीर्षकहरू

सरकारी जागिर छोडेर जलविद्युत उद्यमी बनेका बटु लामिछाने महासंघको सदस्यमा उम्मेदवार

सरकारी जागिर छोडेर जलविद्युत उद्यमी बनेका बटु लामिछाने महासंघको सदस्यमा उम्मेदवार

काठमाडौँ । नेपालको जलविद्युत क्षेत्रका प्रतिष्ठित व्यवसायी बटु लामिछानेले नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को आगामी ६० औँ महाधिवेशनका लागि केन्द्रिय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

लामिछानेले बिहीबार महासंघको केन्द्रीय कार्यालयमा पुगेर एसोसिएट समूहबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । महासंघको नयाँ नेतृत्व चयनका लागि यही चैत्र २९ र ३० गते महाधिवेशन हुँदैछ ।

जागिरदेखि जलविद्युतसम्मको लोभलाग्दो यात्रा

कुनै समय सरकारी सेवा र बैंकिङ क्षेत्रमा अनुभव बटुलेका लामिछाने आज नेपालको ऊर्जा क्षेत्रमा एक निर्भीक र सफल पात्रका रूपमा चिनिन्छन् । काठमाडौँको एक सामान्य परिवारमा जन्मिएका उनले वाणिज्य र बजारशास्त्रमा स्नातकोत्तर (MBA) गरेका छन् । लोकसेवा उत्तीर्ण गरी महालेखा परीक्षकको कार्यालयमा केही वर्ष जागिर खाएका लामिछानेले २०३८ सालमा वाणिज्य बैंकमा प्रवेश गरेर बैंकिङ करियरकोसमेत अनुभव लिएका थिए ।

तर, आफ्नै केही गर्ने हुटहुटीका कारण २०४२ सालमा बैंकको जागिर छोडेर उनी व्यवसायमा होमिए । उनले सुरुमा गलैँचा र धागो व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा आरम्भ गरेका थिए । धुम्बाराहीमा 'सिद्धी विनायक उल उद्योग' स्थापना गरी उनले कार्पेट निर्यातको क्षेत्रमा समेत राम्रो दख्खल बनाए ।

निर्माण क्षेत्र हुँदै हाइड्रोपावरमा प्रवेश

व्यावसायिक विस्तारका क्रममा उनले 'युनिभर्सल कोइ' मार्फत निर्माण क्षेत्रमा हात हाले । काठमाडौँ प्लाजा, बोटलर्स नेपाल जस्ता परियोजनाको नेतृत्व गरेका उनले त्रिभुवन विश्वविद्यालयका विभिन्न शैक्षिक भवनहरू समेत निर्माण सम्पन्न गरे । निर्माण क्षेत्रको यही अनुभव र सफलताले उनलाई जलविद्युत क्षेत्रमा प्रवेश गर्ने साहस दियो ।

इन्द्रावती (७.५ मेगावाट) आयोजनाबाट जलविद्युतको यात्रा सुरु गरेका लामिछानेले चाखुखोला, थोपल खोला लगायतका दर्जनौँ आयोजनाहरूमा कुशलतापूर्वक काम गरिसकेका छन् ।

'बीजी ग्रुप' र ४०० मेगावाटको लक्ष्य

अहिले लामिछाने र व्यवसायी गणेश कार्कीको नेतृत्वमा रहेको 'बीजी ग्रुप' मार्फत २१५ मेगावाट भन्दा बढी क्षमताका आयोजनाहरू निर्माणाधीन छन् । १ मेगावाटबाट सुरु भएको यात्राले अहिले उनमा ४०० मेगावाट सम्मका आयोजनाहरू सजिलै निर्माण गर्न सक्ने आत्मविश्वास पलाएको छ ।

लगानीमा विविधीकरण र नयाँ योजना

पछिल्लो समय लामिछानेको बीजी ग्रुपले जलविद्युतमा मात्र सीमित नभई पर्यटन, सूचना प्रविधि (IT), कृषि र उत्पादनमूलक क्षेत्रमा पनि लगानी विस्तार गरिरहेको छ । घान्द्रुकमा होटल निर्माण सम्पन्न भइसकेको छ भने काठमाडौँ, चितवन र भैरहवामा होटल परियोजनाहरू अगाडि बढाउने योजना छ ।

"२०४२ सालदेखि आजसम्म मैले जे-जति अनुभव सँगालेको छु, त्यसलाई अब युवा पुस्तामाझ बाँड्न चाहन्छु," लामिछाने भन्छन्, "देशको जल, जमिन र जंगलमा रहेका अपार सम्भावनालाई उपयोग गर्न युवा शक्तिलाई प्रोत्साहित गर्ने मेरो मुख्य योजना छ ।"

यही अनुभव र व्यावसायिक भिजनलाई महासंघमार्फत संस्थागत रूपमा अगाडि बढाउन उनले यसपटक केन्द्रिय कार्यकारिणीमा आफ्नो दाबेदारी प्रस्तुत गरेको बताएका छन् ।

प्रतिक्रिया