काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरा र सहसचिव अरुण पोखरेल सहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा करिब ७ करोड ७८ लाख रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।
यस्तै प्रमुख भन्सार अधिकृत मुक्ति प्रसादश्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिका प्रसाद खनाल, भन्सार अधिकृत रमेश कुमार खतिवडा, भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नायव सुब्बा सुवर्णाप्रभा केसी, नायब सुब्बा भुवनराज घिमिरे, नायब सुब्बा उमेश प्रसाद कोइराला,नायब सुब्बा रेवन्त खड्का र नायब सुब्बा मधुसुदन पोखेलविरूद्ध मुद्दा दायर भएको छ।
यसैगरी राहुल भन्ने रेशम महरा, निर्मल कुमार विक, लोकेन्द्र कुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेद प्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सङ र दावोजिङ वाङ, बेल्जियम नागरिक दावा छिरिङ, भारतीय नागरिक साहेव राव पाण्डुरङ मरगले साथै डेक्स्टर ट्राभल्स एन्ड टुर्स प्रालिविरुद्ध मुद्दा दायर भएको छ।
अख्तियारका अनुसार पुस २०७९ मा चिनियाँ गिरोहले दुबईबाट विद्युतीय चुरोट (भेप) को आवरणमा सुन नेपाल भित्र्याएको थियो। उक्त सुन भन्सारबाट पास गराउन महरासहितका व्यक्तिले सक्रिय भूमिका खेलेको अभियोगपत्रमा उल्लेख छ।
अनुसन्धान अनुसार ७३ वटा बट्टामा ७३० वटा भेपभित्र लुकाएर करिब ९ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याइएको थियो। सामान शंकास्पद देखिएपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिए पनि पछि गोदाममै राखिएको भेप चोरी भएको र सुन गायब पारिएको खुलेको थियो।
प्रकरणमा संलग्न समूहले भन्सार कर्मचारी र बिचौलियासँग मिलेर गोदामबाट सुन निकालेर बाहिरबाट ल्याइएको भेप राखेको अनुसन्धानमा देखिएको छ। घटनापछि गरिएको अनुसन्धानका क्रममा करिब १ सय ग्राम मात्र सुन बरामद भएको थियो भने बाँकी सुन गायब भएको पाइएको थियो।
अख्तियारका अनुसार चिनियाँ तस्करसँग मिलेर सुन ओसारपसार गर्ने योजनामा महरा बाबुछोराको संलग्नता देखिएको छ। भन्सारमा रोकिएको सामान छुटाउन विभिन्न व्यक्तिसँग पटक–पटक सम्पर्क गरेको विवरणसमेत सार्वजनिक भएको छ।
यसअघि यही प्रकरणमा गरिएको अनुसन्धानका आधारमा अन्य व्यक्तिविरुद्ध मुद्दा दायर भइसकेको थियो। पछिल्लो अनुसन्धानपछि सार्वजनिक पदको दुरुपयोग गरी सुन तस्करीमा संलग्न रहेको अभियोगमा महरा र पोखरेलसहितलाई भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
उक्त मुद्दा अहिले विशेष अदालतमा विचाराधीन रहेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया